त्रिपाल खरिद प्रकरण: लेखाले बोलायो सहरी मन्त्रीलाई

0 11

काठमाडौं, असार २ – संसदको सार्वजनिक लेखा समितिले त्रिपाल, टेन्ट खरिदको अनियमितताबारे सहरी विकास मन्त्री नारायण खडका र सचिव अर्जुन कार्कीलाई बोलाई सोछपुछ गर्ने निर्णय गरेको छ ।

त्रिपाल र टेन्ट खरिदमा बजारमूल्यभन्दा बढी खर्च भएको र आवश्यकभन्दा बढी खरिद गरिएकोबारे छानबिन गरेर राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाइसकेको छ । वितरण प्रणाली पारदर्शी नभएको भन्दै सभासदहरूले प्रश्न उठाएपछि समितिले शुक्रबारको बैठकमा उपस्थित हुन मन्त्री खडका र सचिव कार्कीलाई पत्र पठाएको हो ।

केन्द्रको छानबिनले खरिदमा अनियमितता देखिएको भन्दै सभासदहरूले त्यसमा गम्भीर भई दोषीलाई कारबाही गर्न माग गरेका थिए । वैशाख १२ को महाभूकम्पपछि प्रभावित जिल्लाका पीडितलाई तत्कालै त्रिपाल आवश्यक भएकाले सरकारले त्यसको खरिद गरी वितरण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको थियो । मन्त्रालयले आपूर्तिकर्तासँग वार्तामार्फत दर र संख्या तय गरी  सम्झौता गर्न सहरी विकास विभागका महानिर्देशक शम्भु केसीको संयोजकत्वमा ६ सदस्यीय कर्मचारीको टोली बनाएको थियो । समितिमा विभागका नीलम डंगोल, रामकृष्ण गुरागाईं, नारायण निरौला र मन्त्रालयका होमनाथ भट्टराई र युवराज गिरी सदस्य थिए ।

विशेष खरिद टोलीले पटक/पटक गरी ४ लाख ५२ हजार ७ सय ९ थान त्रिपाल र टेन्ट खरिद गरेको थियो । वैशाख १२ लगत्तै मन्त्रालयले बजारमा परिमाण, आकार र गुणस्तरका त्रिपाल छन् भन्दै तत्कालै खरिद गरी वितरण गरेको थियो । त्यतिबेला २७ हजार ७ सय ९ थान त्रिपाल खरिद गरिएको थियो ।

सतर्कताको प्रतिवेदनमा आपूर्तिकर्ताले समयमा त्रिपाल उपलब्ध नगराएको, तोकिएअनुसार संख्या नपुगेको र मूल्यसमेत फरक रहेको उल्लेख छ । ‘त्यस्ता आपूर्तिकर्ताको खरिद खाता, बिक्री खाता, भन्सार प्रज्ञापनपत्र, कर दाखिलालगायतका कागजातहरूको छानबिन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा छ ।