मोदी नआउने, विदेशमन्त्री स्वराज आउने ‘संकेत’ मन्त्री निधिले भेटे स्वराजलाई

0 10

नयाँ दिल्ली, असार २ – आगामी साता काठमाडौंमा हुन लागेको दाता सम्मेलनमा भारत सरकारका तर्फबाट ‘सम्भव भएसम्म’ विदेश मन्त्री सुषमा स्वराजले सहभागिता जनाउने भएकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण सरकारको बरिष्ठ मन्त्रीका हैसियतमा स्वराज काठमाडौं आउन सक्ने संकेत बुधबार मिलेको हो । भुटानमा सम्पन्न चार देशका यातायात मन्त्रीको बैठकपछि दिल्ली ‘ट्रान्जिट’ मा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिसँग कुराकानी गर्दै विदेश मन्त्री स्वराजले ‘सम्भव भएसम्म आफूले काठमाडौं दाता सम्मेलनमा सहभागिता हुने’ जानकारी दिएकी थिइन् ।

विदेश मन्त्री निवासमा सम्पन्न भेटवार्तामा सहभागी राजदूत दीपकुमार उपाध्यायका अनुसार जुन २१(असार ६)मा राष्ट्रसंघीय कार्यक्रममा भारत बाहिर जान लागेकी स्वराजले त्यहाँबाट फिरेर सकेसम्म आफैंले दाता सम्मेलनमा सहभागिता जनाउने बताएकी हुन् । ‘होइन भने कुनै बरिष्ठ मन्त्रीको उपस्थिती रहनेछ,’मन्त्री स्वराजको भनाइ थियो । विश्वका ६० भन्दा बढी देश र बहुपक्षीय दातृ निकायलाई निमन्त्रणा पठाइसकिएको दाता सम्मेलन असार १०(जुन २५) मा काठमाडौंमा आयोजना हुँदैछ ।

विदेश मन्त्रीसँगको भेटवार्तापछि कान्तिपुरसँग कुराकानी गर्दै मन्त्री निधीले बीबीआइएन (बंगालादेश, भुटान, इन्डिया र नेपाल)को तहमा सम्पन्न सहज यातायात आवागमन सम्झौताले क्षेत्रीय समुन्नती हुने सुनिश्चित रहेको बताए । विदेश मन्त्री स्वराजले पनि ‘यो संझौताले बंगलादेश, भुटान भारत र नेपालको आर्थिक बिकास र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने’ बिश्वास व्यक्त गरेकी थिइन् । भेटघाटका क्रममा विदेश मन्त्री स्वराजले हुलाकी राजमार्गको  पहिलो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया तत्काल अगाडि बढाउने र त्यसका लागि भारतको आर्थिक सहयोगमा सवै निर्माणको काम नेपाल सरकारले गर्ने जानकारी गराएकी थिइन् । हुलाकी राजमार्गको दोश्रो चरणको बिस्तृत परियोजना प्रस्ताव तयार गर्नका लागि स्वराजले भौतिक पूर्वाधार मन्त्री नीधिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

 

यसैगरी, भिठ्ठामोड जनकपुर सडक चार लेन र बाँकी दुई लेनको सडक निर्माणका लागि भारत सकारात्मक भएको भन्दै सोको बिस्तृत डिजाइन पठाएर काम अगाडि बढाउन समेत मन्त्री निधीलाई भारतले आग्रह गरेको छ ।