अर्जेन्टिनाद्वारा उरुग्वे पराजित

0 6

चिली, असार २ – बुधबार भएको खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा जाने सम्भावना प्रवल बनाएकाे छ । सरजियो अग्युरोले दोस्रो हाफको ५६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई साविक विजेता उरुग्वेमाथि महत्वपूर्ण जित दिलाएको हो ।

अब अर्को राउन्डमा पुग्न अर्जेन्टिनाले शनिबार हुने खेलमा जमैकासँग बराबारी गरे मात्र पनि पुग्छ । तर, पूर्वउपाधि विजेता उरुग्वेले भने अर्को राउन्डमा जानका लागि पाराग्वेलाई हराउनै पर्नेछ ।

अर्जेन्टिनी टोलीले खेलको सुरुवात देखि नै राम्रो प्रर्दशन गर्न सकिरहेको थिएन । तर, खेल अवधिभर बललाई आफ्नै पोल्टोमा राख्न भने सफल थियो । आजको खेलमा मेसीले आफ्नो टोलीका लागि कुनै पनि राम्रो अवसरको सिर्जनासम्म पनि गर्न सकेनन् ।

उरुग्वेले दुईवटा राम्रो अवसर पाए पनि दुवै खेर फालेको थियो । खेलको ७५ औं मिनेटमा डियगो रोलनले अर्जेन्टिनी गोलकिपर सरजियो रोमेरोबाट रिबाउन्ड भएर आएको बललाई क्रशबार माथी प्रहार गरेका थिए । वैकल्पिक खेलाडी अवेल हेर्नान्डेजले ९० मिनेटमा नजिकबाट गरेको प्रहार भने रोमेरोले जोगाएका थिए ।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधी कब्जा गर्न सकेको छैन । अन्तिमपटक उपाधी कब्जा गर्दा अर्जेन्टिनी स्टार मेसी मात्र ६ वर्षका थिए । सन् २००४ र २००७ मा फाइनलमा पुगे पनि अर्जेन्टिना चीरप्रतिद्वन्द्वी ब्राजिलसँग पराजित भएको थियो ।

बुधबार नै भएको अर्को खेलमा पराग्वेले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पाराग्वे समुह बिको दोस्रो स्थानमा कायम छ भने उरुग्वे तेस्रो र जमैका चौथो स्थानमा छ । समुह बिको शिर्ष स्थानमा अर्जेन्टिना छ ।