भूकम्प प्रभावितलाई डंगोट ग्रुपको १० करोड सहयोग

0 6

२ असार, काठमाडौं । नेपालमा लगानी गर्न आएको नाइजेरियाको डंगोट ग्रुपले भूकम्प पीडितहरुको राहत र पुनःस्थापनका लागि १० करोड रुपैयाँ दिएको छ ।

ग्रुपका कार्यकारी निर्देशक डीभीडी एडवीनले १ मिलियन डलर (लगभग १० करोड नेपाली रुपैयाँ) को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

कम्पनीको च्यारिटी हेर्ने डंगोट फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत जारिया युसुफाई र ग्रुपका जनरल म्यानेजर एवं नेपाल परियोजना हेरिरहेका हिक्मत थापा पनि उपस्थित थिए । डंगोट ग्रुपले मकवानपुर जिल्लामा सिमेण्ट कारखाना खोल्न अनुमति लिइसकेको छ ।

नेपालमा परेको प्राकृतिक विपत्तिमा सानो सहयोग गर्न पाएकोमा आफूहरुलाई सन्तोष मिलेको कार्यकारी निर्देशक एड्वीनले बताइन् ।

प्रधानमन्त्री कोइरालाले हालको भूकम्प नेपालको वर्तमान पुस्ताले भोगेको सबैभन्दा ठूलो विपत्ति भएको उल्लेख गर्दै पुनस्थापना र पुनर्निर्माण कार्यलाई परिणाममा पुर्‍याएर आधुनिक नेपालको निर्माणको अभियान प्रारम्भ गर्नेमा आफू विश्वस्त भएको उल्लेख गरे ।

जीएमआरले दियो ३ करोड

नेपालमा अपर कर्णाली र मस्र्याङ्दी जलविद्युत आयोजना विकास गरिरहेको भारतीय कम्पनी जीएमआरले पनि भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापनाको लागि ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

बुधबार  बालुवाटारमा पुगेर जिएमआर इनर्जी हाइड्रोका उपाध्यक्ष आर.बी. सेसनले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेका छन् ।

जिएमआर इनर्जी हाइड्रोका चिफ अपरेटिङ अफिसर हरविन्दर मनोचाले भारतसँग भएको विद्युत व्यापार सम्झौता र नेपाल सरकारले जीएमआर र सतलज जलविद्युत निगमसँग गरेको परियोजना विकास सम्झौताले जलविद्युतको क्षेत्रमा लगानीकर्तालाई ठूलो आत्मविश्वास जगाएको बताए ।

सहयोग रकम हस्तान्तरण समारोहमा उपस्थित भारतीय राजदूत रञ्जित रेले गत बर्ष यता नेपालले दुई ठूला जलविद्युत विकास कम्पनीसँग गरेको परियोजना विकास सम्झौता, पेट्रोलियम पाइपलाईन, फास्ट ट्रयाक, अन्तराष्ट्रिय एअरपोर्ट निर्मार्ण कार्यमा उल्लेख्य प्रगति भएको धारणा राखे ।

इन्भेष्टमेण्ट बैकको १ करोड सहयोग

नेपाल इन्भेष्टमेण्ट बैंकले पनि भूकम्प पीडित नेपालीलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैया प्रदान गरेको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादर पाँडेले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका छन् ।