राष्ट्रपतिको जाेड- ‘चुरे संरक्षणको कानुन ल्याऊ’

0 9

 

दिगम्बरपुर(धनुषा), असार २ – राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षणका लागि स्थायी कानुन बनाउन आवश्यक भएको बताएका छन् । उनले सरकारले संसदबाट कानुन ल्याउनुपर्ने भन्दै तत्काल त्यो अवस्था नभए अध्यादेश ल्याएर भएपनि चुरे संरक्षण परियोजनालाई स्थायी बनाउनुपर्ने उल्लेख गरे ।

चुरे संरक्षणका लागि पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा एक वर्ष अघि सरकारले राष्ट्रपति तराई मधेस चुरे संरक्षण आयोजना सुरु गरेको थियो । कानुनको आभावमा यो आयोजना जुनसुकै वेला पनि स्थगन हुन सक्ने यादवले आशंका व्यक्त गरे ।

चूरे संरक्षण दिवसको अवसरमा बुधवार धनुषाको दिगम्बरपुरस्थित जलाद नदीको वगरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले भने- ‘कानुन बनेन भने, अर्को सरकारले रामेश्वरजीलाई फूटवल बनाईदिन सक्छ ।’

आफूसँगै मञ्चमा बसेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एवं वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यलाई लक्षित गर्दै उनले कानुन बनाउनमा जोड दिए । जंगल फडानी, वालुवा,ढुंगा,गिटी आदिको जथाभावी निकासीलाई रोक्न नसके मधेस मरुभूमि बन्ने चिन्ता व्यक्त गर्दै यादवले भने-‘चुरेको जैविक विविधतालाई जोगाउँदै यसलाई संरक्षण गर्न सकिए नेपालमा पानी र अन्नको अभाव हुने छैन ।’

source:ekantipr