भूकम्पले देखायो भगवानका दूतहरुको सक्कली अनुहार जोतिसधन्दे भागे , येशु परमेश्वर बोलेनन्

0 6

दशकौं लामो विश्रामपछि भूकम्प चटके पाराले आयो र यसले एकै झमटमा सबैको बुद्धि र हुतीको परीक्षा लियो । सुस्तमति र सुस्तगति टाइपका हाम्रा शिखरबासी राजनीतिकर्मीहरु त यो परीक्षामा करिबन फेल भए नै, यसमा भगवानका थरीथरीका दूतहरुका सक्कली अनुहार पनि राम्रैसँग देखिए ।

भूकम्पले घरहरु जगैदेखि हल्लायो र घरसँगै हल्लिँदा हंस हल्लिएका घरबासीहरु अत्यासको मुद्रामा घरै छाडेर बाहिर निस्के । र, डरले गाँजेको वातावरणमा कारुणिक कोलाहल छायो । जब भूकम्पले मथिङ्गल हल्लायो, भगवानका दूतहरुको कलाहीन अभिनय गरिरहेका बन्धुहरु गोजेरा भर्ने आ-आफ्ना धन्दा छाडेर दूला-दूलामा लुसुक्क लुके । खुल्दुली भरिएका आँखाले टेलिभिजनका काँचका पर्दाहरुमा खोजेँ, त्यहाँ यिनका नाकमुख कतै देखिएनन् ।

जन्मको रासीअनुसार मानिसको दिनदिनैको भाग्य हेर्ने एकजना भाग्यद्रष्टा थिए, ती झल्याँस्स मेरो सम्झनामा आए । धन्दाको प्रकृति हेरी तिनले बस्नुपर्ने आदिम प्रकृतिको धूलौटो अगाडि हो, तर ती आधुनिक ल्यापटप अगाडि शानले बस्थे । तिनको समीपमा एकजना मङ्गोल अनुहारकी, चिरिच्याँट्ट सिँगारिएकी रुपसी हुन्थिन् । ती रुपसी रासीफल हेरिमाग्नेहरुका फोन रिसिभ गर्थिन् । अनि नाम, जन्मेको महिना, जन्मेको बार र जन्मेको घडीपला सोधेर परम् ज्ञानी गुरुजी ल्यापटपमा रासीफल हेरिदिन्थे ।

तिनको हेराइमा कसैलाई मित्रलाभ हुन्थ्यो, कसैलाई धनलाभ हुन्थ्यो, कसैलाई विद्यालाभ हुन्थ्यो, कसैलाई पत्नीलाभ हुन्थ्यो । तिनको जोखानामा कसैका भागमा बन्धुकलह पथ्र्यो, कसैका भागमा तनाव आइलाग्थ्यो । लौकिक जीवनमा नित्य भइरहने मिलन र बिछोडका कुरा त तिनका जिब्रामा नछुट्ने नै भए ।

तिनका चित्तको पन्तुरोमा यस्ता पाँच-सातवटा कुरा हुँदा हुन् । तिनले भाग्य हेरिमाग्नेलाई तिनै कुरा आलोपालो गरी बाँडिदिन्थे । दिनदिनै गुरुजीका बासी वचन सुन्ने अन्धमति मनुवाहरुले पत्याइदिएपछि कसको के लाग्छ ? यसरी तिनको अज्ञानीहरुलाई अन्धविश्वास बेचिखाने धन्दा गजपले चलेको थियो ।

तिनको नाम पनि थियो, तिनलाई दाम पनि थियो । वायुमण्डल थर्काउँदै र धूलो उडाउँदै गडगडायमान् भूकम्प आयो र ती ज्ञानी हठात् अन्तर्ध्यान भए । अनि तिनको पछि लागेर जम्मै रासिफलवालेहरु लोकदृष्टिबाट सुइत्त हराए । दुनियाँको भाग्य हेरिदिने तिनको दिव्यदृष्टिले विपत् कालमा तिनलाई केही नै ख्याँसेन । मानौँ भूकम्पको धक्काले तिनका वरदानदाता भगवान नै बेहोस भए ।

भूकम्पअघि टेलिभिजन च्यानलहरुमा बिहानैपिच्छे धार्मिक प्रवचनहरुको प्रतिस्पर्धा चल्थ्यो । काँचका पर्दामा धार्मिक प्रवचनमार्फत् भक्तहरुलाई स्वर्ग जाने टिकट काटिदिने ब्रह्मज्ञानीहरुको बिगबिगी थियो । तिनमा एकजना एक छाँटका मनुवा थिए । छरिएको ठीकै लामो मुलायम कपाल, सुहाउँदिला दाह्री-जुँगा, बान्की परेको मुखाकृति, चञ्चल र तिर्खालु आँखा, चटपटे व्यवहार र बित्पाते हाउभाउ । ती धार्मिक प्रवचकभन्दा पनि बलिउडको नक्कलेे हिरोजस्ता लाग्थे । तिनमा शालीनता कम र ढोँगी आत्मप्रदर्शन बढी गोचर हुन्थ्यो ।

तिनको प्रवचन उत्पात नखरामय हुन्थ्यो । त्यसैले त धार्मिक प्रवचनको बजारमा तिनको भाउ चर्को थियो । नेपालका जिल्लाजिल्लादेखि उत्तर अमेरिकासम्म तिनको प्रवचन व्याप्त थियो । भूकम्प आयो, सातो खायो र ती ज्ञानी, ध्यानी र अभिमानी पनि कतै लुत्त विलुप्त भए । मत्र्यलोक र स्वर्गलोकका यावत् रहस्यहरुका ज्ञाता ती प्रवचकलाई भूकम्प आउँदैछ भन्ने थाहापत्तो भएन । तिनका आँखा माथि कल्पित स्वर्गतिर उठेका थिए, भूकम्पले तल तिनको चाक हल्लायो । अनि भक्तगणलाई जनाउ नै नदिई तिनलाई अलपत्र पारेर डरले थुर्थुर काम्दै र चर्म मुसार्दै ती पनि बेत्तोडले कतै भागे ।

वायुमण्डल थर्काउँदै र धूलो उडाउँदै गडगडायमान् भूकम्प आयो र ती ज्ञानी हठात् अन्तर्ध्यान भए । अनि तिनको पछि लागेर जम्मै रासिफलवालेहरु लोकदृष्टिबाट सुइत्त हराए

बिहान सबेरैको घुमघामपछि मैले नित्य कालो कफी खाने पसलको छेउमा एकजना टीठलाग्दा बाजे डेरा गरी बस्थे । हनुमान चालिसाको प्यार प्यार रटना तिनको प्यान्टे भुँडी भर्ने सजिलो धन्दा थियो । धन्दा खुबै चलेको थियो । खासगरी अस्पताल जाने औकात नभएका नारीहरु तिनकहाँ आउँथे । हँसीखुशी सुन्नाराम टाइपका बाजे बडो फुर्तिसाथ कुचाले तिनका आङ बढारेर रोगलाई धूलामा झार्ने अभिनय गर्थे । ती फोक्सो फुलाउँदै फु-फुको फुङ्कार पनि गर्थे । तिनका मुखबाट लट्टे पड्किएझैँ ‘टोइट्, बइट्, छइट्, लइट्, हइट्’जस्तो अस्पष्ट स्वर सुनिन्थ्यो ।

म देख्थेँ, तिनकहाँ उदास र थकित अनुहार भएका उनैउनै नारी एकाध दिन बिराएर सुस्केरा हाल्दै धाइरहन्थे । तिनका रोग निको नहुँदा हनुमानभक्त बाजेलाई सत्र परिरहन्थ्यो ।

पहिलो भूकम्पको चौथो दिन म मृगस्थलीमा बिहानी घुमघाम सकेर चिया पसलमा हाजिर भएँ । अगाडि यसो हेर्छु त सटर बन्द छ । हुनुपर्ने ठाउँमा हनुमानभक्त बाजे छैनन् । पसल्नी बहिनीलाई सोधेँ, ‘नानी, खोई हाम्रा हनुमानजी ?’

‘बाजे त डरले घर गए, अङ्कल ।’
‘त्यत्रो जान्ने पनि डराए त ?’
‘डरले काम्दै थिए । आँखाभरि आँसु लिएर गए ।’

मनमनै भनेँ, ‘बराबिचरा हनुमान बाजे ! तिनको दुःख तिनका मनचिन्ते हनुमान देख्दैनन्, खतरा भूकम्प सुन्दैन ।’
०००
दुई हप्ता बिते । भूकम्पका पुछ्रे धक्काहरु तैबिसेक मन्द भए र मानिसहरु भूकम्पे धक्का झेल्न अभ्यस्त हुँदै गए । अनि डरले होसगुम भएर लुकेका दूलाहरुबाट भगवानका वारिसेहरु फुत्तफुत्त बाहिर निस्किए । रासिफले निस्किए । हनुमान चालिसे निस्किए । जोतिसधन्दे निस्किए । र, चञ्चले प्रवचनदाता पुनः दृष्टिगोचर भए । रासिफलेले भाग्यको फल बाँड्ने धन्दा शुरु गरे । हनुमान चालिसेको कुचो रोगी नारीका आङमा नाच्न थाल्यो । बलिउडमार्गी प्रवचक आफ्ना अन्धभक्तहरुलाई नखरे मुद्रामा स्वर्गका टिकट बेच्न तम्सिए ।

यी सब कहाँ लुकेका थिए, यिनले केही भनेनन् ? यी डरले कट्टु भिजाउँदै कुद्दा यिनका भगवान के हेरी बसेका थिए, यिनले केही जानेनन् ।

हामीलाई भूकम्पको भमुरीमा पारेर तिमीहरु कता लापता भएका थियौ भनेर भक्त-भक्तिनीहरुले तिनलाई सोध्ने आँट गरेनन् । टेलिभिजनका मालिकहरुले काँचका पर्दाहरु प्रदान गरे र पर्दैपिछे अन्धविश्वासका पसल थापेर ग्रहदशा हेर्ने, रोग झार्ने र स्वर्गका टिकट बेच्नेहरुको धन्दा पूर्ववत् चालु भयो ।

जोतिसधन्देले त मेरीबास्सै, गर्नु नगर्नु गरे । एक थान जोतिसधन्देले समय नै किटेर भूकम्पले पर्लय लिएर आउने कुरा कथुरे । ती मिस्टर सनकसिंका हावादारी कुराले जब फेल खायो, ती झ्याप्पै प्रहरीका पन्जामा परे । भगवानको भक्त प्रहरीका खोरमा जाकियो, तिनका अनस्थित्ववासी भगवान् शून्यबाट शून्य दृष्टिले ट्वाँ परेर हेरेका हेर्‍यै भए ।

०००

माथि हिन्दुपथका धन्दावाज बन्धुहरुका कुरा भए । आयो कुरा अब इसाईपथका धन्दावाज बन्धुहरुको । कपनको सात तले धराप भवनमा यशुभक्त बन्धुहरुले दुईतला भाडामा लिएका रहेछन् । एउटा तला पूजाआजाका लागि, अर्को तला भक्तजनको बसोबासका लागि । भवनको धराप अवस्थाबारे आफ्ना भक्तहरुलाई ‘सर्वदर्शी’ परमात्मा यशुले केही भनेनछन् ।

यी सब कहाँ लुकेका थिए, यिनले केही भनेनन् ? यी डरले कट्टु भिजाउँदै कुद्दा यिनका भगवान के हेरी बसेका थिए, यिनले केही जानेनन् ।

आश्चर्य, उता सीतापाइलाको धराप भवनबारे पनि प्रभु यशु पूरापूर उदासीन ! भवनको अवस्थाबारे भक्तगण यशुलाई बेलैमा नसोध्ने, यशु भक्तगणलाई करुणाभावले भवनको जर्जर अवस्थाबारे नभन्ने । त्यसैले त हुनु हुनामी भयो । बर्बादै भयो ! कपनको भवन गर्ल्याम्म ढल्यो, २९ जना भक्तले ज्यान गुमाए र थुप्रै घाइते भए ।

सीतापाइलामा पनि यशुभक्तहरुको दशा दुर्दशामय भयो । राहत बाँड्दा चामलका बोरामा बाइबल लुकाएर छापामार शैलीमा बाँडिएको कुरा कतै पढेको थिएँ । भक्तहरुलाई सङ्कट पर्दा ती बाइबलले पनि केही लछारपाटो लगाएनन् ।

जब इसाईपथका भक्तहरुको ठाउँठाउँमा भुसुक्कै ज्यान गयो, यो पन्थका प्रचारकहरु पनि आफ्ना ज्यान जाने डरले कतै दूलामा लुके । र, दुई-ढाइ हप्तापछि परिस्थितिको गन्ध सुँगेर ती पनि हिन्दुपथका भगुवा ज्ञानीहरुझैँ फुत्त बाहिर निस्किए ।

०००

साधारणतया धर्म भन्नाले कर्तव्य, परहित वा कल्याण भन्ने बुझिन्छ । र, धर्मकर्ममा प्रवृत्त हुने मानिस शान्त, शिष्ट र विनम्र होला भनी कल्पना गरिन्छ । तर, व्यवहारमा जे देखिन्छ, यत्रतत्र यसको ठीक उल्टो देखिन्छ ।

भूकम्पपछि एउटा टेलिभिजनको काँचको पर्दामा इसाई पथका एक जण्ड प्रचारक प्रकट भए । तिनलाई ध्यानदृष्टिले हेरेँ, एकाग्र चित्तले सुनेँर म त्यसैत्यसै आश्चर्यचकित भएँ । प्रचारक मङ्गोल बान्कीका छन् । ती तन्नेरी छन् । तिनको शरीर सुगठित र बलिष्ठ छ । ती टाई-सूटमा सजिएर इसाई धर्मको प्रचार गर्न अघि सर्छन् । र, ती उभिएरै आफ्नो प्रचारकर्म पूरा गर्छन् । तिनको मुद्रा तामसी छ, स्वर उच्च र कर्कश । तिनको हाउभाउ उत्ताउलो छ, भन्ने काइदा अहंकारले भरिपूर्ण । ती परैबाट कुटुँलाझैँ गरी कुरा गर्छन् ।

आश्चर्य, उता सीतापाइलाको धराप भवनबारे पनि प्रभु यशु पूरापूर उदासीन ! भवनको अवस्थाबारे भक्तगण यशुलाई बेलैमा नसोध्ने, यशु भक्तगणलाई करुणाभावले भवनको जर्जर अवस्थाबारे नभन्ने

म्याक्सिम गोर्की जिजस क्राइस्टलाई प्रमिथस र गरिबाल्डीसँगै राखेर अब्बल दर्जाका शहीद मान्छन् । त्यस्ता क्राइस्टका उपासक वा भक्त हाम्रोमा यस्ता तोरिलाहुरे छन् !

हिन्दु धर्मका मठाधीशहरु आफ्ना पथको अतिरञ्जित मतसंख्याको धाकधक्कु लगाउँदै मुलुकभित्रका अन्य धर्महरुलाई हियाउँछन् । यसरी हियाइनेमा इसाई धर्म पनि पर्छ । लोभ देखाएर र केही चटाएर मानिसहरुको आस्थालाई इसाई धर्ममा ढालिन्छ भन्ने तिनको फत्तुर छ । बन्धु, अहिले आफ्नै कर्मले आफ्नो पोल पो खोलिदियो कि ! चामलका बोराको बाइबल केको सङ्केत हो ज्यू ? अनि काँचका पर्दाको त्यो अभद्र र उत्तेजक प्रचारवाजी ?

०००

भूकम्पले ढालेको मानिस आफ्नै बुद्धिबल, बाहुबल र उद्यमबलले उभिन यत्नशील छ । तर, ती मानिसहरुप्रति सहानुभूति, समभाव र करुणा लेसमात्र पनि नभएका धर्म र अध्यात्मका यी छटेल व्यापारीहरु भने मानिसहरुलाई पराश्रय, पराधीनता र आत्महीनताको बाटोमा लगाउन यत्नशील छन् । यी स्वघोषित ज्ञानीहरु त चिनिएकै हुन् । यस्ता औतारीहरुलाई टेलिभिजनका पर्दामा बौद्धिक र आत्मिक प्रदूषण फिँजाउन ससम्मान ठाउँ दिने मालिकहरुलाई चिन्न पो गाह्रो पर्‍यो लौ !