पहिरो पीडितको वयान : माटोभित्र थिएँ, मान्छे बोलेको सुनें निको भई कहाँ जाने, केही थाहा छैन.

0 3

ताप्लेजुङको पहिरोमा पुरिएर बाँच्न सफल भएको म बलबहादुर रसाइलीको घर (डेरा) ताप्लेजुङ जिल्लाको खोक्लिङ- ७ स्थित गाउँमा पर्छ । अहिले म धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा उपचाररत छु । पहिरो आएको रात सम्झँदा अहिले पनि म भकानिन्छु ।

हामी त केही नभएको गरिब मान्छे । गाउँमै भए पनि कोठाभाडा लिएर अर्काको घरमा बसेको थिएँ भतिजसँग । त्यो घरमा अरु चार जना थिए ।

हामी बसेको पाखोमा अरु तीनवटा घर थिए । ती घरहरुमा लगभग हाम्रै घरको संख्यामा मानिसहरु थिए । साँझ सात बजेदेखि ठूलो पानी परिरहेको थियो । ९ बजेतिर खाना खाएर भतिज र म सुत्यौं । राति ११ बजेतिर निन्द्रामा झसंग भएर ब्युझिएँ । माथिबाट तलतिर एक्कासी जमीन घुम्दै पल्टिएजस्तो भयो । धेरैबेर सोच्नै नपाई के भयो भयो, थाहै पाइँन । भूइँचालोको धक्का खाएको धेरै भएको थिएन । त्यसैले भूइँचालो पो आएको हो कि जस्तो पनि लाग्यो ।

म र भतिज कोठामा सुतिरहेका थियौं, म घोप्टो परेको थिएँ । पुरिएपछि सुरुमा त केही थाहा पाइँन । पछि म माटोभित्र थिएँ, माटोमाथि मान्छेहरु गुनगुन बोलेजस्तो आवाज सुनें । भित्र माटोले पुरिएकै अवस्थामा म बचाऊ बचाऊ भन्दै कराएँ । बाहिर कसैले सुने कि सुनेनन्, केही थाहा भएन ।

राति साढे ११ बजेतिर माटो खोतल्दै छिमेकीहरुले मलाई निकाले र अस्पतालसम्म ल्याए । तर, सँगै सुतेको भतिजको मृत्यु भइसकेको रहेछ ।

घरधनीको नानीको पनि पहिरोमा मृत्यु भयो । त्यो घरका अर्का एकजना घाइते छन् ।

मेरो टुइँके (कम्मरको तल्लो भाग) खुस्किएको छ । देब्रे हात पनि भाँच्चिएको छ । डाक्टरले अझै केही समय अस्पताल बस्नुपर्छ भनेका छन् । ज्यान त बच्यो, तर अब कहिले निको हुने हो र कहाँ जाने हो भन्ने टुंगो छैन ।

एक महिनाअघि मात्रै आमाको मृत्यु भयो । आमाको काम भर्खर सकेर बसेको थिएँ । भतिज पनि गुम्यो, आफू यस्तो अवस्थामा छु ।

जे भए पनि मान्छेको जात, जीउनै पर्ने । तर, आफ्नो घर छैन । गाउँमा भाडाको घरमा भएका समान पनि पहिरोले लगिगयो । जसो भए पनि आफू बाँचियो भनेर चित्त बुझाएको छु । अहिले धरानमा उपचार गराइरहेको छु । अब निको भएर कहाँ जाने, के गर्ने केही टुंगो छैन ।