एपीएफ र विराटनगर फाइनलमा

0 4
पोखरा : क्षेत्र नम्बर ७ जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। जनकपुरले मंगलबार भएको सेमिफाइनलमा क्षेत्र नम्बर १ विराटनगरलाई सात विकेटले हरायो।
जनकपुरले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ। एपीएफले मंगलबार नै भएको अर्को सेमिफाइनलमा क्षेत्र नम्बर ९ धनगढीलाई चार विकेटले हरायो।
पोखरा रंगशालामा भएको खेलमा जनकपुरले उत्कृष्ट बलिङ गर्‍यो। टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ५८ रन जोडेको थियो। विराटनगरको पालीमा कुनै पनि ब्याट्सवुमनले दोहोरो संख्यामा रन जोड्न सकेनन्।
काजोल श्रेष्ठ, अप्सरा बेगम, संगीता राई र शवनम राईले आठ/आठ रन जोडे। रोमा थापा सात, रोशन राई पाँच र कृतु दुलाल तीन रन जोडेर आउट भए।
बलिङतर्फ जनकपुरका सरस्वती चौधरी र अनुराधा चौधरीले दुईदुई विकेट लिए। सन्तोषी चौधरी र शान्ति चौधरीले एकएक विकेट लिए।
जनकपुरले ११ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जनकपुरकी अनुराधा चौधरीले ३५ रन जोडिन्। उनले ३५ बलमा पाँच चौका प्रहार गरिन्।
शान्ति चौधरी सात र शोभा आलेले ६ रन बनाए। जनकपुरले पहिलो विकेटका लागि १३ र चौथौ विकेटका लागि ३२(अविजित) रनको साझेदारी गरेको थियो। जनकपुरकी अनुराधा प्लेयर अफ दि म्याच घोषित भइन्।
अर्को सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७६ रन जोडेको थियो। धनगढीको पालीमा निर्मला शाहीले १५, कविता जोशीले १२, चाँदनी शाहले ११ र विमला भट्टले १० रन जोडे।
विन्दु रावल चार र जानकी भट्ट एक रन जोडेर आउट भए भने कविता कुँवरले खाता खोल्न सकिनन्। बलिङतर्फ एपीएफका रितु कनौजिया, सरिता मगर, सीता रानामगर र नीरा राजोपाध्यायले एकएक विकेट हात पारे।
एपीएफले १६ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। एपीएफको पालीमा रितु कनौजियाले १७, सरिता मगरले १३ र मधु थापाले १४ रन जोडे।
 सीता रानामगर सात र नीरा राजोपाध्याय एक रन जोडेर आउट भए भने खिना थापा र रुविना क्षेत्रीले खाता खोल्न सकेनन्।
एपीएफले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो। ५२ रन जोड्दा ६ विकेट गुमाएको एपीएफ संकटमा परेन। रितु कनौजिया र करुणा भण्डारीले टोलीको उद्धार गरे।
यी दुईबीच सातौं विकेटका लागि अविजित २८ रनको साझेदार भयो। रितुले १५ बलमा दुई चौका प्रहार गरिन।
बलिङतर्फ धनगढीका कविता कुँवरले चार र सोनु खड्का दुई विकेट लिइन। एपीएफले १९ अतिरिक्त रन पाएको थियो।
अलराउन्ड प्रदर्शन गरेकी रितु प्लेयर अफ दि म्याच घोषित भइन्। फाइनल बुधबार हुनेछ।