गण्डक नहरमा पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन हुन सकेन

0 13

परासी, २ असार । तीन महिना पछि गण्डक नहरमा पानी आएपनि नवलपरासीमा रहेको सूर्यपुरा गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन हुन सकेको छैनन् ।

भारतले गत शनिबारबाट नहरमा पानी दिए तापनि पर्याप्त पानी नदिँदा विद्युत् उत्पादन सुरु गर्न नसकिएको सूर्यपुरा विद्युत् उत्पादन गृहका फोरम्यान नागेन्द्र कोइरीले जानकारी दिनुभयो ।

गृहमा रहेको टरवाईन सञ्चालन गर्न ४० देखि ४५ क्युसेक नहरमा पानी आवश्यक भए पनि अहिले नहरमा पर्याप्त पानी भारतले नछाड्दा विद्युत् उत्पादन गर्न सकिएको छैन कोइरीले भन्नुभयो ।

गत फागुन १८ गतेदेखि गण्डक नहरमा पानी बन्द गरी गत शनिबारबाट मात्र नहरमा भारतले पानी दिएको थियो । तर पानी दिए तापनि पूरा पानी नदिँदा विद्युत् उत्पादन गृहमा उत्पादनका लागि पर्याप्त पानी नपुग्दा उत्पादन सुरु हुन नसकेको गृहले जनाएको छ ।

तीन महिनादेखि लगातार विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुँदा करिब दैनिक रु आठ लाखसम्म राजस्व घाटा लागेको केन्द्रको दाबी छ ।

विसं २०१६ मा गण्डक सम्झौताअनुसार नवलपरासीमा दैनिक १५ मेगावाट उत्पादन गर्ने गण्डक जलविद्युत् केन्द्र स्थापना गरिएको छ । हाल केन्द्रमा विद्युत् उत्पादन नहुँदा भारतको विहारबाट नवलपरासीमा विद्युत् आपूर्ति हुँदै आएको छ । रासस