सिन्धुपाल्चोकमा विश्वकै सबैभन्दा ठूलो ॐ टावर

0 8
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यस यताका पराकम्पनका कारण ठूलोे जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकमा विश्वकै सबैभन्दा ठूलो ॐ टावर निर्माण हुँदैछ।
ॐ पार्क ट्रष्ट नेपालले सिन्धुपाल्चोकको खोलेखर्क–६ मा करिब एक सय रोपनी जग्गामा २५ मिटर उचाईको ॐ टावर सहित जडिबुटी रिसर्च सेन्टर, योग विद्यालय, टिपिकल नेपाली रिसोर्ट निर्माण गर्न लागेको हो । उक्त रिसोर्टमा नेपालका सबै भाषा भाषीको परम्परा र संस्कृति झल्काइने ट्रष्टका  महासचिव जनकदीप पराजुलीले  जानकारी दिए।
हालै गएको भूकम्पका कारण भत्किएका संरचना, सम्पदाको आकृति र ज्यान गुमाएकाहरुको स्मरणमा सोही स्थानमा स्थम्भ निर्माण गरिन लागेको  महासचिव पराजुलीले जानकारी दिए । यी संरचना निर्माण भएसँगै भूकम्पबाट आहात भएका सिन्धुपाल्चोकबासीले रोजगारीको अवसर पाउने भएका छन् ।
ती संरचना निर्माणका लागि १६ रोपनी ट्रष्टको नाममा खरिद गरेको र बाँकी ८४ रोपनी वार्षिक ५ लाख तिर्ने गरी ५० वर्षको लागि भाडामा लिइएको संयोजक पराजुलीले जानकारी दिए ।
यही असारको पहिलो हप्तामाबाट उक्त स्थानमा तारबार घेर्ने, लोकल स्थम्भ र हेलिप्याड बनाउने कार्य सुरु गरिने उनले बताए । जग्गा भाडामा लिने काम सकिएसँगै अहिले सरकारसँग लिने स्वीकृतिको काम पनि अन्तिम चरणमा पुगेकाले केही समय पश्चात नै निर्माण थालिने संयोजक पराजुलीले बताए ।
उनका अनुसार त्यहाँ निर्माण गरिने सबैको संरचनाको विषयमा अहिले इन्जिनियरहरुसँग व्यापक रुपमा छलफल भइरहेको छ । जापान, अमेरिका र बेलायतमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएन)का सदस्यहरुको सहयोगमा निर्माण गरिने लागिएको उक्त संरचना निर्माणमा करिब एक  देखि साढे एक  अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको  महासचिव  पराजुलीले बताए ।