चीनमा नेपाल फेरि ‘थिम’ बन्ने तेस्रो चीन दक्षिण एसिया एक्स्पो सम्पन्न

0 4

कुन्मिङ (चीन), असार २ – तेस्रो चीन-दक्षिण एसिया एक्स्पो र २३ औं कुनमिङ मेलामा सक्रिय सहभागी नेपाल आउने वर्ष पुनः यसको ‘थिम’ बन्ने भएको छ । नेपालले राखेको उक्त प्रस्तावमा युन्नान प्रान्त सकारात्मक भएको छ । केन्द्रीय सरकारसँगको समन्वयपछि यसको टुंगो लाग्नेछ ।

अघिल्लो वर्ष नेपाल ‘थिम’ रहेको र नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नै सहभागी भएको उक्त मेलामा यस पटक वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा सहभागी भएर फर्केका हुन् । यस वर्षको एक्स्पोमा भारत ‘थिम’ थियो ।

नेपालले आगामी वर्ष ‘विषय मुलुक’ बन्न रुचि देखाएको युन्नान प्रान्तीय सरकारका उपसचिव ली च मिङले कान्तिपुरलाई बताए । नेपाली उत्पादनलाई एक्स्पोले राम्रो प्रवर्द्धन गरेकामा नेपाल सरकार उत्साही रहेको उनले बताए ।

नेपालका गरिब ग्रामीण महिलाले बनाएका हस्तकलाका सामानलाई युन्नान प्रान्तले खरिद गरिदिएमा नेपाली महिलाको जीवनस्तरमा सुधार आउने धारणा वाणिज्य तथा आपूर्ति मन्त्री थापाले युन्नान प्रान्त सरकारसमक्ष राखेको उपसचिव लीले बताए ।

युन्नान प्रान्त हुँदै चीनका विभिन्न स्थानमा पहुँच निम्ति पहल गर्नसमेत मन्त्री थापाले आग्रह गरेकोमा चिनियाँहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । चीनले दक्षिण तथा दक्षिणपूर्वी एसियासँगको सहकार्यलाई दरिलो बनाउन प्रान्तीय सरकारलाई विशेष सुविधा र अधिकार दिँदै ‘एक बेल्ट एक रोड’ नीतिलाई प्रवर्द्धन गर्न यस्तो मेला आयोजना गरेको हो ।

युन्नान प्रान्तको कुन्मिङमा शुक्रबार सुरु भएको तेस्रो चीन दक्षिण एसिया एक्स्पो तथा तेइसौं कुन्मिङ आयात निर्यात व्यापार मेला मंगलबार -असार १) सम्पन्न भएको हो । एक्स्पोमा ७५ वटा देश तथा क्षेत्रका तीन हजार एक सय ४७ कम्पनीले भाग लिएका थिए ।

‘एक्स्पो अवधिमा २५ अर्ब १९ करोड अमेरिकी डलरको कारोबार भएको छ । जसमा ७ अर्ब ९ करोड डलरको सामान चीनले निर्यात गरेको छ भने ५ अर्ब ५२ करोड डलरको सामान आयात गरेको छ,’ युन्नान प्रान्तको सूचना कार्यालयले जनाएको छ । यो कारोबार गत वर्षको एक्स्पोको कारोबारको तुलनामा झन्डै बीस प्रतिशतले बढी हो ।

दुई अर्ब ६९ करोड ७० लाख अमेरिकी डलर बराबरको लगानी गर्नका लागि एक दर्जन विभिन्न योजनामा सम्झौता भएको बताइएको छ । अघिल्लो एक्स्पोको तुलनामा आपसी लगानी साढे पाँच गुणाले वृद्धि भएको छ । एक्स्पो अवधिमा २ सय ९९ योजनामा ३ खर्ब ३६ अर्ब १३ करोड ३० लाख चिनियाँ युआन लगानीका लागि हस्ताक्षर भएको छ । हरेक वर्ष आयोजना हुने र आपसी लगानी आदानप्रदानमा चीनले यसलाई सबैभन्दा ठूलो मञ्चका रूपमा प्रयोग गरेको उपसचिव लीले बताए ।

एक्स्पोमा ३१ वटा देशले औपचारिक रूपमा सरकारी प्रतिनिधिहरू पठाएका थिए भने दुईवटा अन्तर्राष्ट्रिय संस्थाले भाग लिएका थिए । चीनका लागि विभिन्न मुलुकका आठ राजदूत र सत्र महावाणिज्यदूतहरू पनि एक्स्पोमा सहभागी भएका थिए । गत वर्षको एक्स्पोको क्षेत्रफलभन्दा दोब्बर अर्थात् ६ हजार वर्गमिटर बनाउँदा पनि अझै साँघुरो भएको लीले बताए । एक्स्पोमा विश्वका ख्यातिप्राप्त कम्पनी र व्यावसायिक घरानाहरूलाई आकषिर्त गर्न नसक्नुलाई मुख्य चुनौतीका रूपमा लिएका उपसचिव लीले बताए ।

चीनले एक्स्पो अवधिमा विभिन्न देशसँग दुई पक्षीय साझेदारी बैठक गरेर दक्षिण तथा दक्षिणपूर्वी एसियामा आफ्नो आर्थिक प्रभावलाई विस्तार गर्ने रणनीति लिएको थियो । चीनले आफ्नो आर्थिक कार्यक्रमको केन्द्र भागमा राख्दै आएको रेशमी मार्ग -सिल्क रोड) को रणनीतिलाई कुन्मिङ एक्स्पोमा रणनीतिक तबरमा प्रयोग गरेको छ । ९६ स्टलमा प्रदर्शित नेपाली उत्पादनमध्ये विशेषगरी बुद्धका मूर्ति, थांका, काष्ठकलाका सामग्री, पस्मिना, गलैँचा र रुद्राक्षलाई चिनियाँहरूले रुचाएका थिए ।