रामदेव शिविरमा लैजान राखिएका २२ बालबालिकालाई अभिभावकको जिम्मामा

0 9
काभ्रे : भूकम्प प्रभावित बालबालिकालाई अनुमतिबिना नै भारतीय योग गुरु रामदेवको आश्रममा लैजानका लागि तयारी अवस्थामा राखिएका बाइसजना बालबालिकालाई उद्धार गरिएको छ।
भूकम्पपछि विभिन्न स्थानका  बालबालिकालाई संकलन जम्मा गरी रामदेव पतञ्जली योगपीठ बनेपामा राखिएका ती बालबालिकालाई मंगलबार उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। उनीहरुलाई हरिद्वारस्थित आश्रममा लैजानका लागि एक महिनादेखि त्यहाँ जम्मा पारेर राखिएको थियो।
स्थानीय प्रशासनले हस्तक्षेप गरी बालबालिकालाई त्यहाँबाट निकालिएको हो। ‘जिल्ला बालकल्याण समितिको अनुमती विना बालबालिकालाई संकलन र ओसारपसार गर्दै आएको सूचनाको आधारमा हामीले खोजबिन गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएका हौ, जिल्ला बाल अधिकार अधिकृत जयराम कर्मचार्यले भने।
स्थानीय प्रहरीको हस्तक्षेपपछि बनेपास्थित पतञ्जली शाखा कार्यलयमा राखिएका बालबालिकालाई महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि, प्रहरी र जिल्ला बाल कल्याण समितिको रोहबरमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार अभिभावकको जिम्मा लगाएको थियो।
‘रामदेव पतञ्जली योगपीठ बनेपाले भूकम्पले संकट र पीडामा परेका बालबालिका जिल्लाका विभिन्न स्थानहरुबाट संकलन र संरक्षणका लागि ल्याएको हो, पतञ्जली योग पीठका केन्द्रीय सदस्य ग्रोबेन तौजलेले भने  ‘पतञ्जली योगपीठ बनेपाको पहलमा संकटमा परेका २५ बालबालिकालाई संरक्षण र शिक्षा प्रदान गर्ने उद्धेश्यले भुकम्पपछि हामीले राख्दै आएका हौ ।’
स्वमी रामदेवले नेपालमा भूकम्पबाट प्रभावित भएका ५ सय बालबालिकालाई भारतमा लगेर शिक्षा र संरक्षण दिने घोषणा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले अनुमतिबिना नै बालबालिकालाई राखेको पाइए पछि स्थानीय प्रशासनले उद्धार गरेर अभिभावकको जिम्मा लगाएको बताए। जिल्ला प्रहरी कार्यलय काभ्रेकी प्रहरी प्रमुख एसपी पूजा सिंहले भनिन् ‘जुनै उदेश्यका लागि भए पनि अनुमतिबिना कुनै  व्यक्ति वा संस्थाले बालबालिकालाई राख्न पाउदैन ।त्यसैले हामीले नियन्त्रणमा लिएर सम्वन्धीत अभिभावकहरुलाई जिम्मा लगाएका हौ ।
जम्मा पारेर राखिएका बालबालिकामा अधिकांश ८ वर्षदेखी  १५ वर्षसम्मका छन्। उनीहरुलाई छिटै भारत लैजाने तयारी भइरहेको थियो ।