जानकी मेडिकल कलेजका विद्यार्थी अनसन बस्ने

0 8

१ असार, काठमाडौं । जानकी मेडिकल कलेजका विद्यार्थीहरुले आमरण अनसनसहितको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका छन् ।

 

विना पूर्वाधार सन्चालन अनुमति पाएको जानकी मेडिकल कलेजले विद्यार्थी भर्ना गरेर अध्ययन नगराउने, प्राक्टिकल नगराउने जस्ता कारणले लामो समयदेखि पीडित बन्दै आएका चार सय बढी विद्यार्थीहरुले मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन् ।

कलेज ब्यवस्थापन, आईओएम, टियू, एनएमसी, शिक्षामन्त्री सहितले आफूहरुको समस्यालाई बेवास्ता गर्दै ठगी गर्ने कलेजलाई नै संरक्षण गरेको विद्यार्थीहरुको आरोप छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी सचितानन्द चौधरीले एक साता भित्र आफूहरुका माग पूरा नभए आमरण अनसन बस्ने बताए ।

पीडित विद्यार्थीहरुले सम्पूर्ण विद्यार्थीहरुलाई अन्य कलेजमा स्थानान्तरण गर्न, स्थान्तरणको बोझ विद्यार्थीलाई नबोकाउन, सम्बन्धीत निकायको लापरवाहीको कारण भएको ढिलाइको भागिदारी विद्यार्थीहरुलाई नबनाउन लगायतका माग गरेका छन् ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा चिकित्सा शास्त्र अध्ययन सस्थानको प्राङगणमा धर्ना, शान्तिपूर्ण र्‍याली, सांकेतिक विरोध स्वरुप प्राङगणमै पठन पाठन गर्ने र एक साताभित्र आफूहरुको माग पूरा नभए आमरण अनसन बस्ने लगायतका छन् ।