लिपुलेक सम्झौता नसच्याए सशक्त आन्दोलन : वैद्य

0 3

१ असार, काभ्रे । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भारत र चीनले व्यापारको नाममा नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

 

  • फाइल तस्वीर

नेपाली भूमि लिपुलेकमा ब्यापारिक नाका सञ्चालन गर्ने चीन र भारतको सम्झौतालाई उनले ज्यादती र हेपाहा प्रवृत्ति भनेर टिप्पणी गरे ।

काभ्रेको बनेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वैद्यले भने ‘जुन देशको भूमि हो, उहि देशलाई नसोधी नाका सञ्चालन गर्नु ज्यादती र हेपाहा प्रवृत्ति हो, यसको हामी सशक्त प्रतिकार गर्छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा गत जेठ १ गते भारत र चीनबीच भएको ४१ बुँदे संयुक्त सम्झौताको २८ नम्बर बुँदामा दार्चुलाको लिपु्लेकमा दुई देशले व्यापारिक नाका खोल्ने उल्लेख छ ।

वैद्यले सिमा सञ्चालनको निर्णय सच्याउन सरकारले तत्काल कदम नचाले आफ्नो पार्टीले आन्दोलन सुरु गर्ने बताए । बिना अनुमति नेपाली भूमि ब्यापारिक प्रयोगजनका लागि सम्झौता हुँदासमेत सरकार चूप लागेर बसेको उनले आरोप लगाए ।

‘संविधान जारी हुने सम्भावना समाप्त’

फरक प्रसंगमा अध्यक्ष वैद्यले चार देलको १६ बूँदे सहमतिले देशलाई थप अन्धकार तर्फ धकेलेको र संविधान जारी हुने सम्भावना सकिएको दाबी गरे ।

एकीकृत माओवादीले क्रान्तिको कुरा गरेर नेपाली जनतालाई धोका दिएको भन्दै उनले अब उसँग एकताको सम्भावना नरहेको दोहोर्‍याए ।

अध्यक्ष वैद्यले अबको विकल्प नयाँ जनवादी क्रान्ति र सर्वदलीय राजनीतिक भेला मात्रै भएको बताए ।

– Source:Onlinekhabar