दुबै मिर्गौला खराब भई कतारमै थलिए उज्वल

0 6

दोहा । रोजगारीको शिलशिलामा डेढ महिनाअघि कतार आएका भद्रपुर- ६ झापाका १९ वर्षीय उज्जल राजवंशीको दुबै मृगौला खराब भएपछि कतारमै थलिएका छन् । उनी गत २५ मईदेखि हमद हस्पिटलमा छन् ।

कतार आएको महिना दिनमा नै मेडिकल पास भएर भिसा लगाईएका उनलाई एक महिनापछि पेट दुख्न थालेको थियो । पेट दुख्न नछाडेपछि पुनः हमद हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा दुबै मृगौला खराब भएको पत्ता लागेको हो ।

दुवै मिर्गौला खराब भएका उज्वलको अहिले प्रत्येक हप्ताको ३ पटक डायालासिस गरेर जीवन बचाईएको छ ।

एसएलसीमा पास हुन नसकेपछि परिवारको खर्च धान्न लायन्स ईन्टरनेश्नल म्यानपावरबाट उनी एक महिनाअघि कतार आएका थिए । दुबै मृगौला खराब भएको खबरले उनको आत्मबल कमजोर हुँदै गएको छ । घरको आर्थिकस्थिती अत्यन्तै नाजुक रहेका उज्वलले ७० हजार ऋण खोजेर कतार आएका थिए ।

कतारको यस्तो गर्मीमा काम गर्ने नेपालीहरुसँग मेरो उपचारका लागि सहयोग माग्न नसकेको उनले गुनासो गरे । कतारको लेण्डमार्क ग्रुपमा मार्केटको काममा आएका उनलाई कम्पनीले यो हप्ता नै नेपाल पठाउन लागेको सोही कम्पनीमा कार्यरत राजन चापागाईँले बताए ।

चापागाईँका अनुसार कम्पनीमा नयाँ कामदार भएकाले अन्य कामदारहरुलाई सहयोगका लागि अपिल गरिएको छ । अहिलेसम्म हप्ताको ३ पटक डायालासिस गर्ने खर्च ६ सय रियाल कम्पनीले नै बेहोरेको छ ।

उज्वलको उपचारका लागि चितवन युवा समुह कतारका महासचिव समिर खत्री र राजन चापागाईले सहयोग जुटाउन अभियान शुरु गर्न लागेका छन् । १९ वषर्ीय उज्जलको जीवन बचाउनका लागि सहयोग गर्न चाहनेलाई ६६६४०२४१ र ७०७४८६३१ मा सम्पर्क गर्न उनीहरुको आहृवान छ ।