हमद मेडिकल कर्पोरेसनद्वारा जनसम्पर्क समिति कतार सम्मानित

0 2

दोहा । विश्व रक्तदान दिवस २०१५ को अवसर पारेर हमद मेडिकल कर्पोरेसनले जनसम्पर्क समिति कतारलार्इ सम्मान गरेको छ । कर्पोरेसनको ब्लड डोनर सेन्टरको समन्वयमा संस्थागत रक्तदान गराउन उच्च भूमिका निर्वाह गरेको भन्दै उक्त सम्मानका लागि जनसम्पर्क समिति कतार छनौटमा परी सम्मानित भएको हो ।

प्रमाणपत्र र रक्तदान लोगो अंकित ट्रफी प्रदान गर्दै कर्पोरेसनका म्यानेजिङ डाइरेक्टर डा. हनान अल कवारीले नेपाली समुदायको तर्फबाट पनि रक्तदान जस्तो मानवीय कार्यको उच्च सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । समितिका तर्फबाट सभापति बिमल सुवेदीले सो सम्मान ग्रहण गरेका थिए ।

जनसम्पर्क समितिले बिपी कोइरालाको जन्म शताब्दीको अवसर पारेर ०४ र ०५ सेप्टेम्बर २०१४ मा रक्तदान लगायत अन्य बिबिध कार्यक्रमहरु गरेको थियो । हमद मेडिकल कर्पोरेसनको ब्लड डोनर सेन्टरको समन्वयमा रक्तदानका लागि ७५ जनाले नाम दर्ता गराए पनि प्रक्रिया पुगेका ३८ जनाले मात्र रक्तदान गरेका थिए ।

सम्मानका लागि कतारका प्रतिष्ठित संस्था र कम्पनिहरुसँगै नेपाली समुदायको तर्फबाट नेपाली जनसम्पर्क समिति कतार छनौटमा परेको थियो ।

–मोहम्मद अजिज अलिबाट