‘एमालेका तीन लाख कार्यकर्ता भूकम्पपीडितसँग’

0 2
काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले असार ४, ५ र ६ गते तीन दिनसम्म आफ्नो दलका तीन लाख कार्यकर्ता भूकम्पपीडित जनतासँग हुने जानकारी दिएका छन्। ती कार्यकर्ताले आफ्नो अठोट र दृढताअनुसार जनताका सुखदु:खको अनुभूति गर्नै पनि उनले बताए।
केही वर्षभित्र मुलुकको प्राकृतिक सौन्दर्यलाई कायम गर्न र जनताको पार्टीका रूपमा एमालेलाई स्थापित गर्न पनि यसले सहयोग पु:याउने उनको भनाइ थियो।
चन्द्रागिरी नगरपालिका-१४ मच्छेगाउँमा बाँस र मान्द्रोबाट निर्मित नारायण जनमाविको भवन हस्तान्तरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ओलीले भने, ‘यसबीचमा एमाले २० हजार घरटहरा, एक हजार विद्यालय भवन निर्माण तथा १६-१७ हजार घरका भग्नावशेष हटाउन सफल भएको छ।’
उक्त विद्यालयका लागि नेपाल ट्रेड युनियन महासंघका तर्फबाट अस्थायी रूपमा निर्माण गरिएका चारवटा भवनमा आठ कोठा छन्। विद्यालय भवन गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको थियो।
‘सरकारी भत्ता खाएर आउनेहरूले हामीलाई भत्ताको आँखाले पनि हेर्न सक्छन्’, उनले भने, ‘केही दिनभित्र एक चरणको स्वयंसेवी कार्य सकिनेछ र यो कार्यको मूल्यांकन पनि हुनेछ।’ एमाले अब राष्ट्र निर्माणलाई नयाँ सोच र मोडेलअनुसार अघि बढ्ने उनले बताए।

– Source:annapurnapost