उपेन्द्र र अशोकको एकता सत्ताको खेलसँग नजिक हुने प्रयास : जेपी गुप्ता

0 4

१ असार, काठमाडौं । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले उपेन्द्र यादव र अशोक राई मिलेर बनेको संघीय समाजवादी फोरम नेपाल मधेसीको भावनात्मक साझा संगठन हुन नसक्ने बताएका छन् ।

उनले उपेन्द्र यादव र अशोक राईको पार्टी एकता संसदभित्र हुने सत्ताको खेलसँग नजिक हुन मात्र भएको बताए । अनलाइनखबरसँग कुरा गर्दै गुप्ताले भने-‘मैले बुझेको के हो भने यो १५ सभासदको पार्टी बनाउने भन्दा ठूलो केही होइन ।’

उपेन्द्र यादवले पछिल्लो समय फोरम नेपाललाई सत्ताको आशक्ति, गुट सिर्जना र मधेसको मुद्धा परित्यागका साथै निजी भोगविलासका लागि स्रोत साधान जुटाउन माध्यमका रुपमा प्रयोग गरेको गुप्ताको आरोप छ ।

फोरमका पूर्व नेता समेत रहेका उनले भने-‘यद्यपि मधेस आन्दोलनको विरासत एक पार्टी विजित थियो । अब मधेसी जनअधिकार फोरम रहेन ।’

गुप्ताले संविधान बनेपछि मधेसमा बलियो मधेसी पार्टी बनाउने योजना रहेको सुनाए ।  अहिले पनि उनले मात्रिका यादव, गोपाल ठाकुर लगायतका नेताहरुसँग मिलेर संयुक्त मोर्चाबन्दीको प्रयास गरिरहेका छन् । गुप्ताले भने-‘मधेस केन्द्रीय पार्टी बनाउँदैमा देश कमजोर हुन्छ भन्ने होइन ।’