पुवुदुको सम्झौता असार मसान्तसम्म : खेलकुद मन्त्रालय

0 5

१ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दशानायकेको सम्झौता असार मसान्तसम्म रहेको खेलकुद मन्त्रालयले जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री पुरुषौतम पौडेलले अनलाइनखबरसँग भने-‘उहाँ (पुवुदु) को सम्झौता असार मसान्तसम्म हो । नेपालीमा त्यही छ । तर, अग्रेजीमा बनाउँदा जुलाई १५ हुनु पर्नेमा जुन १५ भएको रहेछ ।’ प्राविधिक त्रुटी भएको भन्दै उनले सच्याउन निर्देशन दिइसकेको बताएका छन् ।

मन्त्री पौडेलका अनुसार असारपछि भने नयाँ सम्झौता गर्ने नगर्ने कुनै निर्णय भएको छैन ।

टी-२० विश्वकपको तयारीका क्रममा पुवुदु नेपाली टोलीसहित भारतको हिमाञ्चल प्रदेशमा छन् । नेपाली टोली २० तारिखमा नेपाल आउनेछ र बेलायत र नेदरल्याण्ड हुँदै आयरल्याण्ड जाने कार्यक्रम छ ।

– Source:Onlinekhabar