संविधान निर्माणको द्रूतमार्गमा कांग्रेसको अवरोध ?

0 6

१ असार, काठमाडौं । संविधानसभाबाट असार मसान्तभित्रै नयाँ संविधान जारी गर्ने प्रयास भइरहेका बेला नेपाली कांग्रेसले जनतमत लिने लगायतका प्रक्रिया पूरा गरिनै पर्ने अडान अघि सारेको छ ।

कांग्रेसले जनमतको कुरा गरेर संविधान निर्माणको अवधि लम्ब्याउन र सुशील कोइरालाको सत्ता लम्ब्याउन खोजेको एमाले नेताहरुले आशंका गरेका छन् ।

संविधान मस्यौदा समितिले गठन गरेका ५ उपसमितिहरुमा छलफल भइरहँदा कांग्रेस पक्षबाट यस्तो धारणा आएको व्यवस्थापकीय उपसमितिका संयोजक भरतमोहन अधिकारीले अनलाइनखबरलाई बताए ।

पाँचवटै उपसमितिहरुले मंगलगवार आ-आफ्नो क्षेत्रभित्र पर्ने विषयमा प्रतिवेदन बुझाउँदैछन् । बुधवार मस्यौदा समितिको बैठक बसेर उपसमितिले बुझाएका प्रतिवेदनमाथि छलफल हुनेछ ।

उपसमितिहरुमध्ये व्यवस्थापकीय उपसमितिको संयोजकमा एमालेका भरतमोहन अधिकारी छन् । त्यस्तै प्रस्तावना र परिभाष उपसमिति संयोजक फोरम लोकतान्त्रिकका जितेन्द्र देव छन् ।

मौलिक हक, राज्यको निर्देशक सिद्धान्त उपसमितिमा मालेका अइन्द्रसुन्दर नेम्वाङ, न्यायपालिका उपसमिति संयोजकमा कांग्रेसका रमेश लेखक र कार्यपालिका उपसिमिति संयोजकमा एमाओवादीका हितराज पाण्डे संयोजक छन् ।

यसअघि तय भएको कार्य तालिका अनुसार असार २ गते मस्यौदा समितिको पूर्ण बैठक बस्ने छ भने ५ गतेसम्म सबै प्रतिवेदनमाथि छलफल भइसक्नुपर्नेछ । छलफलमा आएका धारणलाई समेत मिलाउँदै असार ७ गतेसम्म एकीकृत मस्यौदा बनाउने कार्यतालिका छ ।

समितिले असार १० गते संविधानसभा सचिवालयलाई मस्यौदा गर्ने जिम्मा दिएपछि दुई दिनभित्र सचिवालयले नेपालको नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्नेछ ।

यस हिसाबले असार १३ भित्र संविधानसभा बैठक बसेर पहिलो मस्यौदामाथि छलफल शुरु हुनेछ । संविधानसभामा सर्वसम्मत नहुने प्रष्ट भइसकेको छ ।

बहुमतले संविधानको प्रारम्भिक मस्यौदा पारित गरेपछि जनमतका लागि छोटो बाटो अपनाउने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको तयारी छ । यसैमा दलहरुबीच फेरि कुरा बाझिने सम्भावना छ ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले संविधानको मस्यौदामा जनताले छलफल गर्ने पर्याप्त समय पाउनुपर्ने बताए । उनको यो भनाइ प्रधानमन्त्री सुशील कोइरालासँग छललफलपछि आएको हो ।

ढुंगानाले अनलाइनखबरले भने-जनताको राय त लिनै पर्छ, सकेसम्म छोटो बाटो लिने भनिएको छ, यसको अर्थ असार मसान्तभित्र संविधान जारी गर्नका लागि प्रक्रियाहरु नै छाड्ने भन्ने होइन ।

एमाले नेता सुरेन्द्र पाण्डेले भने यसअघि भएको सहमति अनुसार नै असार मसान्तभित्र संविधान जारी हुने बताए । पाण्डेले भने-एक दुई दिन अघि-पछि होला तर, कांग्रेसले नियतवश प्रक्रिया लम्ब्याउन खोज्छ जस्तो लाग्दैन ।

एमाले र एमाओवादीले कांग्रेसको कोइराला पक्ष महाधिवेशनलाई लक्षित गरेर सरकार लम्ब्याउनका लागि संविधान निर्माणको फास्ट ट्र्याक प्रक्रियालाई पनि लम्ब्याउन लागेको आशंका गरेका छन् ।

फास्ट ट्र्याक प्रक्रियामा जानका लागि संविधानसभाले संविधानसभा निमायवलीका केही धारा निलम्बन गर्नुपर्ने हुन्छ । त्यसअघि कांग्रेस र कम्युनिस्टबीच एकपटक फेरि विवाद हुने सम्भावना देखिएको छ ।

-Source:Onlinekhabar