तलब नदिने टेलिभिजनमा महासंघको धर्ना

0 4

काठमाडौं, असार १– नेपाल पत्रकार महासंघले पारिश्रमिक नदिएको, पत्रकार तथा कर्मचारीमाथि ज्यादती गरिएको लगायतको विरोधमा आज दुई टेलिभिजनमा पहिलो चरणको धर्ना दिएको छ ।

पारिश्रमिकलगायतका माग राख्दै हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजनमा आन्दोलनरत कर्मचारी तथा पत्रकारहरुको मागप्रति ऐक्वेबद्धता जनाउँदै महासंघले पहिलो चरणको आन्दोलन अनुरुप धर्ना दिएको हो ।

धर्ना कार्यक्रममा कार्यसंघका केन्द्रीय समितिसहित प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, नेपाल आर्थिक पत्रकार , महासंघका प्रतिष्ठान तथा सञ्चारसँग सम्बन्धित कर्मचारीहरु सहभागी छन् ।
पहिलो चरणको धर्ना कार्यक्रम अनुसार पहिले हिमालय टेलिभिजनमा २ घण्टा धर्ना दिइएको र त्यसपछि एभिन्यूजमा धर्ना दिने कार्यक्रम चलिरहेको छ ।

केहि दिन पहिले सम्पन्न महासंघको सिन्धुपाल्चोक बैठकको निर्णय अनुसार पहिलो चरणको आन्दोलन तय गरिएको जानकारी दिँदै महासंघका महासचिव उजीर मगरले व्यवस्थापनले सहमति कार्यन्वयन गर्नुको सट्टा उल्टै पूर्वाग्रही ढंगले तलब नदिने, सरूवा गर्ने, स्पष्टीकरण माग्ने जस्ता कार्य गरेकाले आन्दोलन गर्नुपरेको जानकारी दिए ।
महासंघ केन्द्रको विरोधलाई व्यवस्थापन पक्षले पुनः बेवास्ता गरे थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।