पहिरोपीडितलाई खाद्यान्न अभाव

0 4

१ असार, पाँचथर । पहिरोका कारण विस्थापित बनेका पश्चिम ताप्लेजुङका बासिन्दालाई खाद्यान्नको अभाव हुन थालेको छ ।

लिवाङ, खोक्लिङ, सान्थाक्रा र थिङ्लाबुका पहिरोपीडितको घरसँगै अन्नपात र खेतबारी बगेपछि उनीहरु समस्यामा परेका हुन् । सरकारले गत शनिबार नेपाली सेनाको हेलिकप्टरबाट पठाएको राहत सामग्री अपुग भएका पीडितले बताएका छन् ।

पहिरोबाट घरबार गुमाएका जीतबहादुर घिमिरेले भने, ‘अहिलेसम्म हामीले केही राहत पाउन सकेका छैनौँ । बस्ने कतै केही नभएर नजिकैको विद्यालयको शरण लिएर ओत लागेर बसेका छौँ ।’

आएका राहत पनि लिवाङ र खोक्लिङमा मात्रै वितरण गरिएको अन्य क्षेत्रका बाढी पहिरोपीडितले बताएका छन् ।

उता, पहिरोपीडित परिवारका विषयमा छलफल गर्न जिल्ला विपद् व्यस्थापन समितिले बोलाएको बैठकमा जिल्लास्थित विभिन्न दलका अगुवाले ‘राज्यले ठूलो खालको हेलिकोप्टरबाट राहत पठाइदिन’ आग्रह गरेका छन् ।