आमाबाबुबाट खोसेर हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

0 6
राजविराज: घरभित्रै प्रवेश गरी आमाबाबुबाट खोसेर बञ्चरो र खुकुरी हानी हत्या गर्नेहरुलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
पुनरावेदन अदालतले सोमबार राजविराज ८ का सोमेश सुतिहार र इटहरी विष्णुपुर ७ का मनोज यादवलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।
यसैगरी अदालतले राजविराज ८ का विक्रम बस्नेत, राजविराज ७ का निरज काफ्ले र विवेक पाण्डेलाई जन्मकैदको फैसला गरेको छ।
जिल्ला अदालतको सफाई दिने फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतका न्यायाधीशद्वय बालकृष्ण उप्रेती र तेजबहाद्ुर राईको संयुक्त इजलाशले यस्तो फैसला गरेको अधिवक्ता भानुभक्त निरौलाले जानकारी दिए।
जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलाशले राजविराज ९ का शिवशंकर कर्ण र इटहरी विष्णुपुर ७ का कमलेशलाई ०६७ फागुन १७ गते, सोमेशलाई ०६७ चैत १६ गते तथा निरज, विवेक र मनोजलाई ०६८ असार २१ गते सफाई दिने फैसला गरेको थियो।
सात वर्ष अघि आरोपितहरुले तिलाठीकी अन्जली झाको चोरी भएको साइकल फिर्ता माग्दै राजविराज ८ का २५ वर्षीय पिन्टु भनिने रामएकबाल सिंहलाई लखेट्दै घरभित्र प्रवेश गरी बञ्चरो, खुकुरी, फलामको रड, बाँसको फट्टाले अन्धाधुन्ध आक्रमण गरेका थिए।
बचाउ गर्न पुगेकी मृतककी बहिनी लक्ष्मी सिंहको निधारमा समेत उनीहरुले खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
बञ्चरो, खुकरी, लाठीसहितका आरोपितहरुले लखेटे पछि गुहार माग्दै घरभित्र लुक्न गएका पिन्टुलाई बुवाआमा, बहिनी, भाईबुहारीबाट खोसेर आरोपितहरुले ०६५ वैशाख २ गते राति ८:४५ बजे हत्या गरेका थिए ।