इम्जा हिमतालमा भूकम्पको असर छैन: विज्ञ

0 4

काठमाडौँ, १ असार – जल तथा मौसम विज्ञान विभागको प्राविधिक टोलीले विस्फोटको जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालमा भूकम्पले कुनै असर नगरेको निष्कर्ष निकालेको छ।

महाभूकम्प र त्यसपछिका परकम्पले इम्जा हिमताल र त्यस वरपरको क्षेत्रमा केही असर गरेको देखिएन, बाढी पूर्वानुमान महाशाखा प्रमुख शर्माले भने, भूकम्पअघि र पछिको अवस्था उस्तै पायौं। विज्ञ शर्माले भूकम्पपछि तालको पानीको बहाव, पानी निकास हुने छेउ र आसपासको भागमा वातावरणीय परिवर्तन नदेखिएको पनि बताए।

महानिर्देशक डा ऋषिराम शर्मासहित यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका प्राविधिक सल्लाहकार प्रविण मास्के र विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख राजेन्द्र शर्मालगायतको टोलीले सोमबार स्थलगत अध्ययनपछि त्यस्तो निष्कर्ष निकालेको कान्तिपुर दैनिकमा खबर छ।

महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनपछि केही विशेषज्ञले इम्जा हिमतालको छेउछाउमा धाँजा फाटेको र वरपरको भागमा चिरा परेकाले विस्फोटको सम्भावना रहेको चेतावनी दिएका थिए। स्वतन्त्र विशेषज्ञहरूको आकलनले जनमानसमा हिमताल विस्फोटको सन्त्रास फैलाएपछि विभागले स्थलगत अध्ययन गरेको हो। भूकम्पलगत्तै स्थलगत अध्ययन गर्न खोजे पनि हेलिकप्टर अभाव र मौसमको खराबीका कारण रोकिएको स्थलगत अध्ययन सोमबार सम्भव भएको महानिर्देशक शर्माले बताए।