अनुदान रकम आफैं सक्छन् विदेशी: गृह मन्त्रालय

0 11

काठमाडौँ, १ असार – भूकम्प पीडितलाई विदेशीले दिएको अनुदानको ठूलो हिस्सा उनीहरु आफैंले विभिन्न नाममा सिध्याएको सरकारी अध्ययनले औंल्याएको छ।

गृह मन्त्रालयले विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदानको ठूलो अंश दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाले आफ्नै जनशक्तिमा खर्च गरेकाले वास्तविक पीडितसम्म नपुगेको निष्कर्ष निकालेको हो। भूकम्प पीडितको उद्धार तथा राहत वितरणका लागि अधिक मात्रामा विदेशी जनशक्ति परिचालन भएकाले यस्तो खर्च वास्तविक पीडितसम्म पुग्न नसकेको गृहको ठहर रहेको नागरिक दैनिकमा खबर छ।

गृहले तयार पारेको गोरखा भूकम्प, २०७२: खोज, उद्धार तथा राहतको एक महिनाको प्रारम्भिक प्रतिवेदनमा राहत वितरण र विभिन्न अध्ययन, अनुसन्धान तथा उच्चस्तरीय भ्रमणका नाममा थुप्रै दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले अनावश्यक जनशक्ति विदेशबाट ल्याउने क्रम नरोकेको समेत उल्लेख छ। गृहले अनावश्यक जनशक्ति रोक्न तत्काल पहल गर्नुपर्ने पनि प्रतिवेदनमा औंल्याएको छ।