संसद कर्मचारीको तलबभत्ता सभासदको भन्दा बढी

0 18

१ असार, काठमाडौ । सभासदले मासिक कति तलब बुझ्छन् ? धेरैलाई थाहा होला तर संसद सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलबभत्ता सभासदको भन्दा पनि बढी छ ।

सचिवालय आफैले निर्णय गर्न पाउने संसद कर्मचारीको तलब भत्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्याधिक बढी छ । सचिवालयले ब्यवस्थापिका संसदका सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता, दैनिक ६ सय खाजाभत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजाभत्ता भुक्तान गर्छ, नागरिक दैनिकमा खबर छ ।

सभासदको मासिक तलब ४० हजार १ सय ६० रुपैयाँ छ । संसदका कार्यालय सहयोगी पदका कर्मचारीले भने मासिक ४१ हजार ३ सय ६४ रुपैयाँ बुझ्छन् ।  उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० रुपैयाँ मात्र हो तर त्यसमा ८० प्रतिशत भत्ताबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ । सार्वजनिक बिदाको थप रकम जोडिँदा त्यसले सभासदको तलबलाई उछिन्छ ।

सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम स्केल १७ हजार ७ सय ३० छ । उसले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्छ । सुब्बास्तरका कर्मचारीले १८ हजार ८ सय तलब स्कले, १५ हजार ४० प्रोत्साहन भत्ता र १८ हजार खाजा खर्च गरी ५१ हजार ८ सय ४० रुपैयाँ बुझ्छन् ।