नेपाली भूमिमा भारतीय रोक

0 11

१ असार, कपिलवस्तु ।  कपिलवस्तुको पश्चिमी भागमा भारतीय सीमामा पर्ने गौतमबुद्ध साझेदारी वनक्षेत्रमा वृक्षरोपणका लागि तारबार गर्दा भारत सीमा सुरक्षा बलले रोक लगाएको छ।

नेपाल-भारत सीमास्तम्भ ५७८ नजिक अर्रा नदीको किनारमा रहेको नेपाली भूमिमा तारबार गर्दा भारतीय सुरक्षा टोलीले हस्तक्षेप गरेकोअन्नपूर्ण पोस्टमा खबर छ ।

भारतीय सीमा सुरक्षा बल छोटा भकुरवाका असई भागरथी रिवाडसहितको सशस्त्र हतियारधारी टोलीले तारबार गरिरहेका साझेदारी वनका सदस्यलाई धम्की दिएर काम रोकेको गुगौलीका स्थानीयले बताए।

उनीहरूले भारतीय सीमा सुरक्षा बलबाट असुरक्षा हुने भन्दै नाम नखोलिदिनसमेत आग्रह गरे।

उक्त वनक्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा तारबारसहित वृक्षरोपण गर्ने योजना रहे पनि भारतीय टोलीले रोकेको साझेदारी वनका सदस्यले गुनासो गरे।

अर्रा नदीको उत्तर नेपाल र दक्षिणपट्टि भारतीय भूमि हो। ‘तारबार गरेको क्षेत्र नेपाली भूमि हो भन्दा पनि उनीहरूले हामीलाई काम गर्न दिएनन्’, गौतम बुद्ध साझेदारी वनका अध्यक्ष जानकीप्रसाद यादवले भने।

वनको खाली १५ बिघा जग्गामा सात सय पिलर गाड्ने र तारबार गर्ने योजना रहे पनि भारतीय हस्तक्षेपले दुई सय ३७ वटा पिलर गाडेर बीचमै रोक्नुपरेको उनले बताए।

अर्रा नदीले नेपाल-भारत सीमा क्षेत्रमा रहेको सीमास्तम्भ बगाएको छ। सिमानानजिक अन्य पिलर छैनन्। पाँच किलोमिटर टाढा सानो सहायक पिलर भए पनि त्यसमा नम्बर उल्लेख छैन।

– Source:Onlinekhabar