इम्जा हिमतालमा भूकम्पको असर छैन: विज्ञ

0 7

काठमाडौ, असार १ – जल तथा मौसम विज्ञान विभागको प्राविधिक टोलीले विस्फोटको जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालमा भूकम्पले कुनै असर नगरेको निष्कर्ष निकालेको छ ।

‘महाभूकम्प र त्यसपछिका परकम्पले इम्जा हिमताल र त्यस वरपरको क्षेत्रमा केही असर गरेको देखिएन,’ बाढी पूर्वानुमान महाशाखा प्रमुख शर्माले सोमबार कान्तिपुरलाई भने, ‘भूकम्पअघि र पछिको अवस्था उस्तै पायौं ।’ विज्ञ शर्माले भूकम्पपछि तालको पानीको बहाव, पानी निकास हुने छेउ र आसपासको भागमा वातावरणीय परिवर्तन नदेखिएको पनि बताए ।

महानिर्देशक डा.ऋषिराम शर्मासहित यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजना’ का प्राविधिक सल्लाहकार प्रविण मास्के र विभागको ‘बाढी पूर्वानुमान महाशाखा’ प्रमुख राजेन्द्र शर्मालगायतको टोलीले सोमबार स्थलगत अध्ययनपछि त्यस्तो निष्कर्ष निकालेको हो ।

महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनपछि केही विशेषज्ञले इम्जा हिमतालको छेउछाउमा धाँजा फाटेको र वरपरको भागमा चिरा परेकाले विस्फोटको सम्भावना रहेको चेतावनी दिएका थिए । स्वतन्त्र विशेषज्ञहरूको आकलनले जनमानसमा हिमताल विस्फोटको सन्त्रास फैलाएपछि विभागले स्थलगत अध्ययन गरेको हो । भूकम्पलगत्तै स्थलगत अध्ययन गर्न खोजे पनि हेलिकप्टर अभाव र मौसमको खराबीका कारण रोकिएको स्थलगत अध्ययन सोमबार सम्भव भएको महानिर्देशक शर्माले बताए ।

केही दिनअघि सोलुखुम्बुकै छेस्काम गाविस-३ को होङ्गु खोलामा हिमताल फुटेर बाढी आएपछि विभागले इम्जा र त्यस तलका साना हिमतालको स्थलगत अध्ययनलाई प्राथमिकतामा राखेको थियो । सोमबार बिहानै हेलिकप्टरबाट गएको प्राविधिकको टोलीले इम्जा हिमतालको सूक्ष्म ढंगले निरीक्षण गरेको थियो । त्यसलगत्तै टोली होङ्गु खोला गएको थियो ।

प्राविधिकले इम्जा हिमतालमा भूकम्पले असर नगरे पनि जोखिम भने बाँकी नै रहेको बताएका छन् । ‘जोखिम बाँकी नै रहेकाले तालको सतह तीन मिटर झार्ने काम भइरहेको छ,’ शर्माले भने, ‘च्छो रोल्पामा जस्तै पानीको सतह तल झारिए जोखिम न्यून हुन सक्छ ।’ यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजना’ मार्फत इम्जा हिमतालको सतह तीन मिटर झार्ने र तल्लो तटीय क्षेत्रमा बाढीको पूर्वसूचना दिने प्रणाली जडान गर्न लागिएको हो ।

‘तालमै पानी नाप्ने राडार सेन्सर र तल्लो तटीय क्षेत्रका बस्तीमा पूर्वसूचना प्रणाली जडानको काम दुई वर्षमा सकिन्छ,’ शर्माले भने । विभागका प्राविधिकले विस्फोटको जोखिममा रहेको दोलखाको च्छो रोल्पा हिमतालमा शनिबार ‘राडार सेन्सर’ जडान गरेका छन् । महाशाखाका बाढी पूर्वसूचना विज्ञ विनोद पराजुलीले राडारले सूचना -डाटा) दिन थालेको जानकारी दिए । महाशाखामा २४ सै घण्टा ड्युटीमा रहेका विशेषज्ञहरूले त्यसको विश्लेषण गर्दै सम्भावित बाढीको पूर्वअनुमान गर्नेछन् । च्छो रोल्पा हिमतालका साथै हिमताल तलको बेदिङ गाउँमा पनि विभागले पूर्वसूचना दिन साइरन जडान गरेको छ ।