अशोक राईको ओरालो बाटो

0 6

काठमाडौ, असार १ – तीन वर्षअघि एमालेका प्रभावशाली उपाध्यक्ष थिए अशोक राई । एमालेभित्र राम्रै हालीमुहाली थियो उनको । नम्र र भद्र नेतामा गनिने उनी महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष बनेका थिए । तर, पहिचानको राजनीतिको पारो चढिरहेका बेला उनले एमाले छाडे । संघीय समाजवादी पार्टी गठन गरेर अध्यक्ष भए । त्यो पार्टी बनाउँदा उनले नयाँ शक्ति निर्माणको उद्घोष गरेका थिए ।

डेढ वर्षअघि दोस्रो संविधानसभाको निर्वाचनबाट उनको दल ५ सिटमा खुम्चियो । अन्ततः उनी सोमबारदेखि उपेन्द्र यादव नेतृत्वको १० सिटको फोरम नेपालसँग मिल्न पुगे । उनी पदीय रूपमा एकीकृत पार्टीभित्र दोस्रो वरीयतामा बसेका छन् । संसदीय दलको नेता दिने भनिएको छ । तर, पार्टी एकीकरण घोषणासभामा त्यसबारे खुलाइएन । नयाँ नामकरण भएको संघीय समाजवादी फोरमको वरिष्ठ नेता मात्र पाएका छन् उनले । यादव एमाले पृष्ठभूमिमा रहँदा राईका कार्यकर्ता थिए । तर, अहिले यादवलाई मुख्य नेता मान्ने बाध्यतामा पुगेका छन् राई ।

एमालेबाट बाहिरिने क्रममा उनले जुन अपेक्षा गरेका थिए, त्यसअनुसारको परिणाम संविधानसभा निर्वाचनबाट आएन । पार्टीभित्र पनि उनका खम्बा मानिने विजय सुब्बा एमालेमै फर्किए । मधेसका नेता मानिने गोपाल ठाकुरलगायत पनि राईसँग असन्तुष्ट हुँदै पार्टी छाडेर हिँडे । यी घटनाक्रमले कमजोर भएपछि यादवसँगको एकताले शक्ति विस्तार गर्न सक्ने ठानेर राईले नै एकीकरणमा जोडबल गरेका हुन् ।

‘राईजी कुशल संगठक हुन्, माले र एमाले निर्माणमा उहाँको ठूलो भूमिका थियो । तर समय बदलिएको छ,’ उनीसँग एमालेमा काम गरेका विश्लेषक हरि रोकाले भने, ‘पुरानै ढंगले खटिएर काम गरे शक्ति आर्जन गर्न पनि सक्नुहुन्छ ।’

संघीय समाजवादीले गति लिन नसकेपछि नयाँ अस्तित्वको खोजीमा थिए राई । ‘अस्तित्व खोजीकै अन्तिम प्रयास स्वरूप यादवको पार्टीमा एकीकरण गर्न जानुभएको हो,’ भूमिगतकालदेखि सँगै काम गरेका उनका सहपाठी एमाले नेता युवराज कार्कीले भने, ‘एमालेमै बसिरहेको भए उहाँको राम्रै भूमिका हुन्थ्यो । तर, जातीय राजनीतिको उल्टो दिशा हिँडदा यो अवस्थामा पुग्नुभयो ।’

एमालेभित्रको राजनीतिक खिचातानीमा जनजाति पृष्ठभूमिका कारण उनले लाभ लिन सक्ने अवस्थ्ाा थियो । राजनीतिक इतिहास भएका, पार्टी निर्माणमा भूमिगतकालदेखि नै त्याग गरेकाले उनले राजनीतिक फाइदा लिने ठाउँ एमालेमा निकै हुने थिए । तर, पार्टीले पहिचानको मुद्दा छाडेको आरोप लगाउँदै उनी बाहिरिए । उनको समूहमा लागेका पृथ्वी सुब्बा गुरुङलगायत नेता एमालेमै बसे । राई भने नयाँ शक्ति गठन गर्न सकिने ठानेर बाहिरिए ।

संघीय समाजवादीले सुरुबाटै उद्देश्यअनुरूप काम गर्न सकेन । उक्त पार्टीमा काम गरेको पूर्वनेताहरू त्यही कारण समस्या आएको मूल्यांकन गर्छन् । उद्देश्यअनुसारका काम गर्न नसक्नुमा नेतृत्वको क्षमता स्वतः जोडिन्छ । पार्टी गठनकै समयमा आठजना उपाध्यक्षसहितको जम्बो पदाधिकारी बन्यो । धेरै नेतालाई पदीय भागबन्डा पुर्‍याउने बाध्यताले सुरुमै संगठनले चुस्त काम गर्न सकेन ।

‘उहाँमा पहिलो नेता भएर काम गर्ने खुबी धेरै छैन । दोस्रो मानसिकता नै बढी छ,’ राईको पार्टीको उपाध्यक्ष छाडेर एमालेमै फर्किएका सुब्बाले भने, ‘पार्टीभित्र क्षमताभन्दा यो जातलाई यति, ऊ जातलाई यति भनेर प्रतिशत गन्ने प्रवृत्ति रह्यो, त्यसैले समस्या निम्त्यायो ।’ उनले नयाँ एकीकृत पार्टीमा पनि त्यस्तो प्रवृत्ति दोहोरिने आशंका गरे ।

संविधानसभाको चुनावपछि प्राप्त पाँच सिटमा धेरै नेताहरू राईलाई छाडेर अन्यलाई पठाउन चाहन्थे । तर, आफैं संविधानसभा जान उनले जोडबल गरे र गए पनि । त्यसपछि नै हो उनको पार्टीमा समस्या आएको ।

उपाध्यक्ष छाडेर हिँडेका गोपाल ठाकुरका अनुसार पहाड र तराईको विभेद त्यहाँ पनि प्रकट हुन्थ्यो । ‘मधेसप्रतिको दृष्टिकोण एमालेको जुन थियो, त्यही संघीय समाजवादीमा पनि देखियो,’ उनले भने, ‘त्यसैले हामीले छाडेर हिँड्यौं ।’ मिहिनेतसाथ बनाए पनि डेढ वर्षमै पश्चाताप गर्नुपर्ने अवस्था आएको उनको ठम्याई थियो । उनले दुई पार्टी एकीकरणलाई भने सकारात्मक भने । ‘यादव र राईजीको पार्टीमा लागेका कुनै मधेसी, खस वा जनजातिले हामी संघीय समाजवादीमा हुँदाजस्तो सीमान्तकृत भएको अनुभव गर्नु नपरोस्,’ उनको सुझाव छ, ‘त्यो अवस्था निर्माण गर्नुभयो भने राम्रै हुन्छ ।’

राई पञ्चायत व्यवस्थामा भूमिगतकालदेखि नै माले पार्टी निर्माण्ामा सक्रिय थिए । बाहिर देखिनेभन्दा भित्र बसेर संगठनको काम गर्थे । मदन भण्डारीको निकट रहेर उनले कोसी क्षेत्रमा धेरै गतिलो संगठन बनाएका थिए । एमालेको पाँचौं महाधिवेशनमा उनी भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ का विपक्षमा थिए । उनले सीपी मैनाली, झलनाथ खनालहरूले अघि सारेको ‘नौलो जनवाद’ को पक्ष लिए । महाकाली सन्धिको विवादमा एमाले विभाजन भएका बेला उनी माले पक्षमा लागे । सातौं महाधिवेशनबाट सर्वाधिक मत ल्याउने उनको इतिहासले बुटवलको आठौं महाधिवेशनमा उपाध्यक्ष हुँदा पनि निरन्तरता पायो । एमालेभित्र अवसर पाएकै नेतामा पर्थे । एमालेकै तर्फबाट दुईपटक सांसद र तीनपटक मन्त्री भए । त्यहाँ रहँदा पार्टीभित्र उनको आफ्नै स्थायी गुट थिएन । तर, पछिल्लो समय जातीय मुद्दा आएपछि भने उनले आफ्नो गुट निर्माण्ा गरेर पार्टी नै छाडे । वर्गीय राजनीति छाडेर जातीय मोह जाग्दा प्रभावशाली भूमिकाबाट खुम्चिँदै उनी यो हालतमा आइपुगेका छन् ।