एमालेका मानष पुत्र ! माओवादीका ‘टेष्टट्युब बेबी’ !

0 14

३२ जेठ, काठमाडौं । उपेन्द्र यादवको अध्यक्षतामा सोमबारदेखि नेपालमा ‘संघीय समाजवादी फोरम नेपाल’ नामक नयाँ पार्टी जन्मिएको छ । दुईवटा पार्टी घटेर संविधानसभामा पाँचौं ठूलो पार्टीका नेता बनेका छन् अशोक राई र उपेन्द्र यादव ।

Ahok Rai, Upendra Yadav and Yubraj Karki

रोचक पक्षचाँहि के छ भने अशोक राई र उपेन्द्र यादव दुबै नेकपा एमालेका मानष पुत्र हुन् । अर्का नेता खस समावेशी राष्ट्रिय पार्टीका नेता युवराज कार्की पनि विगतमा एमालेकै उत्पादन हुन् । यी तीन नेताले यतिबेला एउटै पार्टी बनाएको घोषणा गरे पनि यिनीहरु एक समय एमालेकै स्कुलका नेता-कार्यकर्ता थिए ।

संगठनात्मक आनुवंशिकताको हिसाबले अशोक राई, उपेन्द्र यादव र युवराज कार्की एमालेका उत्पादन हुन् भने विचारका हिसाबले चाहिँ माओवादीका ‘ट्ष्ट्युब बेबी’ हुन् । अशोक राई र उपेन्द्र यादवले उठाएको राजनीतिक-वैचारिक मुद्दाको सर्जक अहिलेसम्म पनि माओवादी नै हो ।

अझ मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी दुबैको जन्म गराउनमा समेत माओवादीको प्रत्यक्ष लगानीसमेत रहेको चर्चा राजनीतिकमा भित्री खेलाडीहरुले गर्दै आएका छन् ।

खस समावेशी पार्टीको अवधारणा एमाओवादीका गोपाल किरातीले विगतमा ल्याएको खम्वुवानको अवधारणासँग ठ्याक्कै मेल खान्छ ।

उपेन्द्र र प्रचण्डको एउटै लाइन

सुनसरीबाट नेकपा माक्र्सवादी एमाले बनेका उपेन्द्र यादव विगत जनयुद्धकालमा भारतमा माओवादी नेता मात्रिका यादव र सुरेश आलेमगरसँगै पक्राउ परेका थिए । उनी लोमो समय गिरफ्तारीमा परेनन् । पछि मात्रिका यादवका कारण उपेन्द्र माओवादीबाट टाढिए ।

दोस्रो जनआन्दोलन सफल भएर अन्तरिम संविधान जारी भइसकेपछि उपेन्द्र यादवको अगुवाइमा मधेस आन्दोलन भर्कियो र त्यसले देशमा संघीयता ल्यायो । यो परिघटनासँगै उपेन्द्र यादव एमाओवादीबाट अलग्गै समानान्तर धारको नेता बने ।

विचारका हिसाबले उपेन्द्र पूर्व कम्युनिष्ट र वर्तमानमा समाजवादी हुन् । वर्गीयसँगै जातीय मुद्दाहरुमा प्रचण्ड र उपेन्द्र यादवको दृष्टिकोणमा भिन्नता छैन । यादवले समाजवादलाई आफ्नो घोषित सिद्धान्त मान्दै आएका छन् ।

विगतमा केही तीतो मीठो परिघटना नभएको भए उपेन्द्र यादव र प्रचण्डकै वीचमा पार्टी एकता भए पनि अचम्म हुँदैन । पछिल्लो समय ३० दलीय मोर्चामा प्रचण्ड सम्झौता गरेर जाने पक्षमा देखिए भने उपेन्द्रचाँहि संघर्ष चर्काउनुपर्ने पक्षमा देखिए । तर, पहिचानसहितको संघीयताको सवालमा उपेन्द्र र प्रचण्डको लक्ष फरक छैन ।

अशोक राई पनि उस्तै

Ashok-Raiजतिबेला अशोक राई नेकपा एमालेको उपाध्यक्ष थिए, त्यसबेला उनी पार्टीबाट विद्रोह गर्न सकिरहेका थिएनन् । सूत्रहरुका अनुसार एमाओवादी नेता वर्षमान पुन र केही आदिवासी जनजाति नेताले नगरकोट र धुलिखेलतिर लगेर अशोक राईलाई धेरै पटक फकाएका थिए ।

एमाओवादीले कैयौंपटक जोड गरेपछि अशोक राईले एमाले छाडेका थिए । तर, उनी दोस्रो संविधानसभामा एमाओवादीमा गएनन् र छुट्टै चुनाव लडे ।

अशोक राईलाई एमाओवादीले जसरी आफूतिर तान्ने प्रयास गरेको थियो, गैरकम्युनिष्ट आदिवासी जनजाति नेताहरुले पनि अशोकराई लाई तान्ने प्रयास गरेका थिए । चैतन्य सुब्बाको सामाजिक लोकतान्त्रिक पार्टीमा अशोक राईको टीमलाई पनि राख्ने जनजाति नेताको जोड थियो ।

तर, एमालेको स्कुलमा हुर्केका राईले केही वैचारिक प्रश्नमा अडान राखे । आफू मार्क्सवादी भएको स्पष्ट गर्दै राईले चैतन्य सुब्बाको भन्दा भिन्नै पार्टी बनाए ।

समाजवाद र वर्गीय मुद्दाका सवालमा अशोक राई र उपेन्द्र यादवको विचार ठ्याक्कै मिल्छ । दुबै एमाले स्कुलका नेता हुन् र एमाओवादीको ‘जातीय स्वायत्तता’ बाट प्रभावित भएपछि एमालेबाट टाढिएका नेता हुन् । यो हलसम्म उपेन्द्र यादव र अशोक राईको एकता प्राकृतिक र स्वाभाविक नै देखिन्छ ।

तर, उनीहरु दुबैजना किन एमाओवादीमा समाहित भएनन् र छुट्टै पार्टी बनाइरहेका छन् भन्ने वैचारिक- राजनीतिक फरक छुट्याउन भने निकै कठीन छ ।

युवराजमा माओवादी रुझान

खस समावेशी राष्ट्रिय पार्टीले उठाएको मुद्दा जातीय आधारमा समावेशी संघीय राज्य हुनुपर्छ र ‘अन्य’मा राखिएका खसलाई पनि समानुपातिक चुनावमा प्रतिशत छुट्याइनुपर्छ भन्ने माग हो ।

यो मागमा माओवादीको रुझान स्पष्टै देखिन्छ । तथापि युवराज कार्कीको प्राथमिक स्कुल चाँहि अशोक राई र उपेन्द्र यादवको जस्तै माले स्कुल नै हो ।

नयाँ पार्टीको आशलाग्दो पक्ष

देशमा धेरैवटा पार्टी हुनुभन्दा थोरै पार्टी हुनु राम्रो भन्ने जनविचार पाइन्छ । साना पार्टीहरुमा पनि आफू सानो भएकोमा लघुताभाष छ । यस्तो बेलामा तीन पार्टीवीच एकता भएर संघीय समाजवादी फोरम नेपाल बनेकोमा कार्यकर्तामा उत्साह भरिनु स्वाभाविकै हो ।

सोमबार सोह्रखुट्टेको नेपा बैंङ्क्वेटमा आयोजना गरेको पार्टी एकता घोषणा कार्यक्रममा केन्द्रीय नेताहरु निकै हाँसीखुशी देखिएका थिए । हल र बाहिरसमेत गरी झण्डै एक हजारको संख्यामा भेला भएका कार्यकर्तामा उत्साह र जोश देखिन्थ्यो ।

पहाड र तराईका जनसमुदायमा दुरी बढ्दै गइरहेका बेला मधेसी, पहाडी र शासक जाति भनिएको खस क्षेत्रीको समेत सहभागितामा नयाँ पार्टी बनेपछि यसले उपेन्द्र यादवकै भाषामा भन्दा ‘धेरैको दिमाग खराब गरिदिएको’ छ । सबैभन्दा पहिले पहाड र मधेसको वीचमा विभेदको बिऊ रोप्नेहरुको दिमाग खराब गरिदिएको छ । यो नेपाली समाजको एकता र सदभावका लागि निके सकारात्मक पहलकदमी हो ।

साना पार्टीहरु आपसमा मिल्दा निश्चय नै पार्टीको विस्तार र विकास गुणात्मक हुने देखिन्छ । पूर्वी पहाड र प्रवासमा अशोक राईको पाटीर्ृको पूर्वाधार छ भने तराई मधेसमा फोरमको प्रभाव छ, जसले पार्टीलाई भविश्यमा कमल थापालाई जित्ने गरी चौथो विकल्पका रुपमा उठाउने सम्भावना पनि नभएको होइन ।

पार्टी एकताका क्रममा नेताहरुले दाबी गरेका छन् कि यो पार्टी कांग्रेस, एमाले र एमाओवादीको विकल्प बन्नेछ ।

पुरेतको गाईजस्तो बन्ने डर

पार्टी बन्ने र त्यसले विकास गर्ने भनेको उसले लिएको विचार र राजनीतिले हो । तर, संघीय समाजवादी फोरम नेपालले लिएको विचार र नीति अस्पष्ट छ र कतिपय विचार माओवादीसँग ‘ओभर ल्यापिङ’ हुनेखालको छ ।

राई र यादवले पहिचानसहितको संघीयताका लागि लड्ने बताएका छन् । उनीहरुले कांग्रेस एमाले र एमाओवादीलाई संघीयताविरोधी, पहिचानविरोधी भनिरहेका छन् । तर, यो विचार भूकम्पअघिको धङधङी मात्रै हो ।

 

किनभने, भूकम्पपछि कांग्रेस, एमाले र एमाओवादी सबै पहिचानसहतिको संघीयतावादी भइसकेका छन् । १६ बुँदे समझदारीमा पहिचानका आधारमा ८ प्रदेश बनाउने भनिएको छ ।

पहिचानको पक्षमा आइसकेका दलहरुलाई पहिचानविरोधी करार गरेर गाली गर्नुबाहेक नयाँ कार्यक्रम राई र यादवले दिन सकेनन् भने पुरेतले विभिन्न ठाउँबाट भेलापारेका गाईको जेर नमिलेजस्तो तीन दलका कार्यकर्ता तीनतिर छरिने खतरा छ ।

अरुलाई गाली गरेर आफूलाई श्रेष्ठ देखाउने राजनीतिक अब नेपालमा फस्टाउने खासै सम्भावना छैन । त्यसैले नयाँ पार्टीको चुनौती भनेको जनतामा नयाँ कार्यक्रम दिने हो । गरीब र आधारभूत पक्षको आवाज उठाउने हो । तर, पार्टीलाई पहाडका हुनेखाने जनजाति र तराईका जमिन्दारका हातमा मात्रै सीमित राखियो भने त्यसले उत्पीडित वर्गको सेवा गर्न सक्दैन ।

अर्कातर्फ नयाँ पार्टी कुन संस्कृतिमा आधारित बनाउने भन्ने महत्वपूर्ण हुन्छ । कांग्रेस, एमाले र एमाओवादीमा मौलाएको भ्रष्टाचार, अराजकता, भनसुनवाद र चन्दामा टिक्ने परिपाटीबाट यो दल मुक्त भएन भने यसको अवसान चाँडै हुने देखिन्छ ।

चन्दा उठाएर बियर र मासु खाने र राजनीतिको गफ चुट्ने संस्कारबाट यो दलले आफूलाई मुक्त राखेन भने कांग्रेस, एमाले र एमाओवादीका गाली गरेका भरमा बिजनेश चल्न सक्दैन ।

भन्दा छुचो र व्यक्तिगत कुराजस्तो लाग्न सक्छ, सभासद नहुँदासम्म अशोक राईको जिविका निजी बोर्डिङ स्कुलबाट चलेको छ । शिक्षामा गरिएको निजीकरण र ब्यापारीकरण कुनै समाजवादी नीतिभित्र पर्दैन । उपेन्द्र यादव अपार्टमेन्टमा बसेका छन्, उनको उद्योग भन्दा थाहा छैन । वर्गीय धरातलका हिसाबले यो पार्टीका अधिकांश नेताहरु पनि प्लेटोले परिभाषा गरेजस्तै ‘आवारा वर्ग’कै प्रतिनिधि हुन् ।

सोमबार बनेको नयाँ पार्टीले अब देशको शिक्षा नीति, स्वास्थ्य नीति र समग्र आर्थिक नीति कस्तो लिनेछ ? यसले मात्रै उसलाई ठूला तीनदल भन्दा भिन्न प्रकारको सामाजिक न्याय दिने वैकल्पिक पार्टी बनाउन सक्नेछ । अन्यथा तामझाम गरेका भरमा नयाँ विकल्प बन्न मुस्किल छ ।

अहिले नेपालका राजनीतिक पार्टीहरुमा देखिएको अर्को रोग हो पदीय प्रतिस्पर्धा । एउटा सामान्य गाविसस्तरीय पदमा पनि मारामार हुने गरेको छ । यो नयाँ पार्टीमा पनि नेता हुन पाउने र नपाउनेवीच भोलिदेखि नै भगडा हुँदैन भन्न सकिने अवस्था छैन । यसलाई चिर्ने राजनीतिक संस्कृति के हो ? ‘पहिचान’ मात्रै भनेका भरमा पार्टी चल्दैन ।

अन्त्यमा, भर्खरै जन्मेको बच्चालाई गाली गर्नु शोभनीय नहोला । तर, पार्टी भनेको बच्चा होइन । नयाँ जन्मेको पार्टीका चुनौती औंल्याउनु राज्यको चौथो अंगको दायित्व र कर्तव्य बाहिर पर्दैन । नयाँ पार्टीले सकारात्मक काम गरेर राष्ट्र र जनताको सेवा गरोस् भन्ने शुभकामना ।