भूकम्प पीडितको सहयोगकोलागि आस्थाले गाईन, राजेश हमाल नाचे

0 4

जेठ ३२ , नेपालका भूकम्प पीडितको सहयोगार्थ अवुधावीमा भएको साँस्कृतिक कार्यक्रममा नेपाली कलाकारले गीत, संगीत र नृत्य प्रस्तुत गरेका छन् ।

अबुधावीको अल नाहदा नेशनल स्कुलको सभाहलमा आयोजित कार्यक्रममा नायक राजेश हमाल, गायिका आस्था राउत, हाँस्यकलाकार दिपकराज गिरी, दीपाश्री निरौला, तेरिया मगर, तिलकबम मल्ल, प्रजिता गेलाल, सम्झना मगर लगायतको सहभागिता थियो ।

नेपालका भूकम्प पीडित नागरिकको सहयोगार्थ भनिएको उक्त कार्यक्रममा सहभागी नेपाली कलाकारले निशुल्क प्रस्तुती दिएका थिए ।

कार्यक्रममा तेरियाले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् भने तिलकबम मल्ल, प्रजिता गेलाल लगायतले गीत प्रस्तुत गरेका थिए । हाँस्य कलाकार दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीले दर्शकलाई पेट मिचिमिची हँसाएको थियो ।

कार्यक्रममा गायिका आस्थाले ‘झम्के बुलाखी,चौबन्दीमा, माया हो माया र सालको पात टपरी गाँसेर’ बोलको गीत गायकी थिईन् । आस्थाले सालको पात बोलको गीत गाउँदा राजेश हमाल स्टेजमा पुगेर नाचेका थिए ।

बाहिर ४५ डिग्री तापक्रम भएपनि हलभित्र एसी भएकाले दर्शकले आनन्दले मनोरञ्जन लिएका थिए । एक हजारको हाराहारीमा उपस्थित भएका दर्शकले नेपाली कलाकारको प्रस्तुतीको तारिफ गरेका थिए ।