फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी पार्टी एकीकरण आज संबिधानसभामा ५ औं ठूलो दल बन्दै

0 7

काठमाडौ, जेष्ठ ३२ – उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीबीच आज एकीकरण हुँदैछ । काठमाडौंको सोह्रखुट्टेस्थित नेवा प्यालेसमा आज तीन पार्टीबीच एकीकरणको घोषणा हुँदैछ ।

एकीकरणपछि एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्ने सहमति भएको छ । एकीकरणपछि पार्टी संबिधानसभाको पाँचौं शक्ति बन्नेछ । राप्रपा नेपालपछि पाँचौं शक्ति रहेको फोरम लोकतान्त्रिक भन्दा संघीय समाजवादी फोरम नेपालको एक सिट बढी हुनेछ । संबिधानसभाकाे चाैथाे दल राप्रपा नेपालकाे २५ सिट छ । फाेरम लाेकतान्त्रिककाे १४ सिट छ ।

संबिधानसभामा फोरम नेपालको १० र संघीय समाजवादीको ५ सिट छ । खस समावेशी पार्टीको संबिधानसभामा प्रतिनिधित्व छैन । एकीकरणपछि यादव अध्यक्ष बन्ने सहमति भएको फोरम नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजालले जानकारी दिए ।

राई भने संसदीय दलका नेता र पार्टीका वरिष्ठ नेता हुनेछन् । कार्की उपाध्यक्ष बन्ने रिजालले जानकारी दिए । एकीकरण घोषणा अघि तीनै पार्टीका बैठक चलिरहेको छ । बैठकले अब बन्ने पार्टीको केन्द्रिय सदस्यलगायत पदाधिकारी टुंगो लगाउने छ । नयाँ बन्ने पार्टीको केन्द्रिय सदस्य संख्या २ सयको हाराहारीमा हुनेछ ।