उपत्यकामा ६५ हजार भूकम्पपीडित त्रिपालमा

0 6
काठमाडौं ३२ जेठ – उपत्यकाका तीन जिल्लामा भूकम्पबाट बास गुमेर त्रिपालमा बस्नेको संख्या ६५ हजार पुगेको छ । यसमध्ये करिब तीन हजार उपत्यकाबाहिरबाट विस्थापित भएका छन्।महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानका शिविरमा मात्र भूकम्पबाट बास गुमेका ४५ हजार जना छन् । ललितपुरमा १० हजार पाँच सय र भक्तपुरमा ६ हजारजना शिविरमा बस्दै आएको नयाँ पत्रिकामा खबर छ।

काठमाडौंको टुँडिखेल, पहेँलोगुम्बा, भुइँखेल चौर, विजेश्वरी, धर्मस्थली, झोर महांकाल, पाँगा, भत्केको पार्टी, झागाझिटी, रामकोटमा ठूलो संख्यामा भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । त्यस्तै ललितपुरको बिपीपार्क, छम्पी, खोकना, बुङमती, लामाटार, लेले र चापागाउँमा धेरै रहेका छन्।

 

भक्तपुरको सानो व्यासी, ठूलो व्यासी, राममन्दिर, भेलुखेल, पद्यस्कुल, महेश्वर खेलमैदान र कमलविनायक टाउन प्लानिङमा सामूहिक रुपमा भूकम्पबाटबास गुमेका पीडित बस्दै आएका छन।

प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामा गरेर करिब ६८ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र झन्डै तीन लाख सर्वसाधारणले बास गुमाएका थिए । केही अन्यत्र डेरा सरेका छन् भने केही खुला ठाउँमा त्रिपाल टाँगेर बस्दै आएका छन्।