व्यापारिक नाका रसुवागढी आवातजावतमा रोक

0 7

नुवाकोट ३२  जेष्ठ – नेपाल र चीनबीचको दोस्रो ठूलो व्यापारीक नाका रसुवागढीमा आवतजावत गर्न रोक लगाइएको छ। भूकम्पले क्षति पुर्‍याएको सडकमा वर्षा सुरु भएसँगै पहिरो जाने क्रम बढेपछि स्थानीय प्रशासनले आवतजावतमा सर्वसाधारणलाई रोक लगाएको अन्नपूर्ण पोष्टमा खबर छ।

रसुवा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक अन्य उद्देश्यका लागि सर्वसाधारणलाई रसुवागढी जान रोक लगाइएको जानकारी दिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालका अनुसार रसुवागढी नाका जान साढे १५ किलोमिटर वरै रहेको स्याफ्रुबेसीमा रहेको प्रहरी पोस्टको अनुमति आवश्यक पर्छ। अत्यावश्यक काम नभएकालाई उनीहरूकै सुरक्षाको कारण रोक लगाइएको रिमालले बताए।

’पहिरो निरन्तर गइरहेको छ। कच्ची सडकमा भूकम्पका कारण पहिरो खसिरहेकाले असुरक्षा बढेको छ’, सहायक प्रजिअ रिमालले भने,’सायद वर्षा अगाडि रसुवागढी नाका सञ्चालन हुन सम्भव नहोला।’ उता, रसुवाको पश्चिमी भेगमा रहेको हाकु गाविसको मैलुङको पहिरोमा परेर धेरै गाउँ बगेका छन्। यहाँका सबै बासिन्दा नुवाकोटलगायत विभिन्न स्थानका शिविर बनाएर बसिरहेको प्रसाशनले जानकारी दियो।

वैशाख १२ गतेको भूकम्पका दिन रसुवागढी नाकामा माथिबाट भीषण पहिरो जान सुरु गरेको हो। भूकम्पका कारण गएको पहिरोले अध्यागमन, भन्सार, गोदाम, प्रहरी कार्यालय, होटेल सबै पुरिएका छन्। अधिकांश भवन जमिनभन्दा कति तल पुगे भन्ने अझै यकिन नभएको अवस्था छ।

रसुवा सदरमुकाम धुन्चेस्थित नारायणदल गणका गणपति प्रमुख सेनानी लक्ष्मण थापाका अनुसार लगातार सात दिन २१ वटा स्काभेटर चलाउँदा बल्लतल्ल सडक खुलाइएको छ। ’पुरिएका व्यक्ति र सवारी साधनलाई निकाल्न मुस्किल छ’, उनले भने।

सीमा प्रहरीको अस्थायी पोस्ट पुरिएपछि एक किलोमिटर नेपालतिर सारिएको छ। ’यो पनि अत्यन्त जोखिममा छ’, पोस्टका इन्चार्ज सई पदमबहादुर श्रेष्ठले भने, ’नजिकमा सार्ने ठाउँ पनि छैन। जताततै पहिरै पहिरो छ।’

स्याफ्रुबेंसीबाट रसुवागढी आउँदा सडक छेउछाउमा दर्जनौं पहिरो गएका छन्। तीमध्ये वृद्धिम गाविसको लिङलिङ, वृद्धिम र टिमुरेको सीमा तातोपानी नजिक र मेदाङफुदुछेउमा अति ठूला पहिरा गएका छन्।

स्याफ्रुबेंसी-रसुवागढी मार्गमाथि रहेका ठाडा पहाडका चुचुराबाट ढुंगा झर्न रोकिएको छैन्। सडकमा यात्रुले रोकिएर हेर्दै भाग्दै गर्नुपर्ने अवस्था छ। अति जोखिमपूर्ण भएकाले प्रहरीले रसुवागढीसम्म जान अनुमति नदिएको हो।

उता पर्यटकीय क्षेत्र लाङटाङमा भूकम्पपछि आएको हिमपहिरोले पुरिएर हराएकामध्ये २८ विदेशीसहित एकसय ९२ जनाको शव निकालिएको रसुवा प्रशासनले जनाएको छ।

लाङटाङमा अझै २२ विदेशीसहित ५० जना हराइरहेको सप्रजिअ रिमालले जानकारी दिए। रसुवाको लाङटाङ, टिमुरे, हाकुलगायतका स्थानमा अझै एक सय २५ जना हराइरहेका छन्। भूकम्पका कारण रसुवामा ६ सय ६० जनाले ज्यान गुमाएका छन्।

भूकम्पका कारण हिमाली जिल्ला रसुवामा अधिकांश स्थानमा पहिरो गएको छ। तजाततै पहिरो गएको देखिन्छ। स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरका अनुसार भूकम्पले रसुवागढी पहाड हल्लाएका कारण रसुवामा दुई सय ३० भन्दा बढी पहिरो गएका हुन्।

पहिरोले दर्जनौं बस्ती बगेका छन्। त्यहाँका सयौं बासिन्दा विस्थापित भएका छन्। विस्थापित परिवार दुई हजारभन्दा बढी भएको सरकारी अनुमात छ। अवस्था हेर्दा यो आँकडा निकै कम भएको स्थानीय बासिन्दाको भनाइ छ। प्रहरीका अनुसार १८ गाविस पहिरोको जोखिममा छन्। तीमध्ये लाङटाङ, हाकु, डाँडागाउँ, ठूलोगाउँ, स्याफ्रु, राम्चे, यार्सा र टिमुरे पहिराको उच्च जोखिममा छन्।

हाकु गाविस ३ हाकुवेशीका सबै बासिन्दा धुन्चेमा आश्रित छन्। डाँडागाउँ गाविसको ५ देखि ९ वडासम्मका बासिन्दा नुवाकोटमा रहेको त्रिशूली थ्रि ए भवनमा शरणार्थी जीवन बिताइरहेका छन्। डाँडागाउँ गाविसको ८ र ९ का विस्थापित नुवाकोट गेर्खु गाविसको सातबिसे र बेत्रावती तथा विदुर नगरपालिकाको आगिंटारमा अस्थायी शिविर खडा गरेर बसेका छन्।