काठमाडौंमा बुब्का भेट्दा

0 9

‘यो रेडियो नेपाल हो । अब गोपाल बस्नेतबाट खेलकुद समाचार सुन्नुहोस्– सर्गिई बुब्काले पोल भल्टमा फेरि अर्को विश्व कीर्तिमान बनाएका छन् ।’

मध्य चालीसको दशकमा रेडियो नेपालमा बल्लतल्ल हप्ताको तीन दिन खेलकुद समाचार आउँथ्यो । त्यसमा प्राय: सुनिने नाममध्ये एक थियो, सर्गिई बुब्का । त्यसताकाको विदेशी खेलकुद समाचारमा नाम आउन म्याराडोना, पेले, कपिल देव, इमरान खान, कार्ल लुइस वा माइक टाइसन नै हुनुपथ्र्यो । कमै मात्र स्थान पाउने खेलकुद समाचारमा बुब्काको एउटा छुट्टै नाम थियो ।

बुब्का भन्ने कस्तो खेलाडी होला भन्ने कौतूहल थियो । खेलकुदको रसमा भर्खर भिज्दै गरेको मेरा लागि एथ्लेटिक्स कुनै नौलो थिएन । तर पोल भल्ट बारेमा अनभिज्ञजस्तै थिएँ । भारतबाट प्रकाशित हुने स्पोर्टस स्टार र स्पोर्टस वल्र्डमा बुब्का पोल मर्काएर नाघ्दै गरेको तस्बिर नै हेरेपछि मात्र उनको बारेमा र पोल भल्टको बारेमा बुझ्न लागियो ।

बुब्का तिनै खेलाडी थिए, जसले एकपछि अर्को विश्व कीर्तिमान बनाउँदै आफूलाई अजम्बरी खेलाडीको रूपमा उभ्याए । खेलकुदमा ३५ विश्व कीर्तिमान सायदै अरू कसैले फेरि बनाउला । उनको प्रतिस्पर्धा कसैसँग थियो भने त्यो आफैंसँग । उनी आफैंले बनाएको कीर्तिमानलाई उछिन्दै नयाँ विश्व कीर्तिमान बनाउँथे । यसको पछाडि पनि छुट्टै कारण थिए ।

६ मिटर नाघ्ने उनी पोल भल्टका पहिलो खेलाडी हुन् । खासमा बुब्काले एकैपटक ६ मिटरको आसपासमा नाघ्न पनि सक्थे । यसो गरेको भए उनको नाममा यत्रो विश्व कीर्तिमान रहने थिएन । तर हरेक विश्व कीर्तिमान बनाएबापत १० हजार डलर पाउने प्रावधान थियो । उनी त्यसैका लागि अलिकति उचाइ बढाएर मात्र आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई सुधार्थे । यसैले उनलाई ३५ विश्व कीर्तिमानको धनी बनायो ।

लगातार ६ पटकसम्म विश्व च्याम्पियनसिप जितेका बुब्काले १९९३ मा डोनेस्कमा ६.१५ मिटर नाघेका थिए । त्यो विश्व कीर्तिमान फ्रान्सका रेनाउड लाभिलेनले गत वर्षमात्र युक्रेन नै गएर तोडेका थिए ।

एथ्लेटिक्सको मात्र नभई बुब्का विश्व खेलकुदकै ठूलो नाम हो । ओलम्पिकमा भने उनले एउटामात्र स्वर्ण पदक १९८८ सोलमा जिते । कहिले उनी चोटले सताइन्थे भने कहिले अन्तिम छनोटमै पर्दैनथे । सोभियत संघबाट उनले १९८१ देखि १९९१ सम्म खेले । सोभियत संघ टुक्रिएसँगै बुब्का युक्रेनी नागरिक भए । युक्रेनको शताब्दी उत्कृष्ट खेलाडीमा चुनिएका उनले २००० को सिड्नीसम्म अर्को ओलम्पिक स्वर्णका लागि खेलिरहे । १९८४ मा उनी आफ्ना उत्कृष्टतामा थिए । तर सोभियत संघले लस एन्जल्स ओलम्पिक बहिस्कार गरेकाले उनले खेल्न पाएनन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…………………..

बुब्का हाल युक्रेनी ओलम्पिक कमिटीको अध्यक्ष, अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएएफ) को उपाध्यक्ष र डेभलपमेन्ट कमिटीको प्रमुख छन् । यसैमा उनको व्यस्त दैनिकी छ । अघिल्लो हप्ता उनी एथ्लेटिक्स सभामा भाग लिन चीन आएका थिए । नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहको व्यक्तिगत निमन्त्रणपछि उनी एक दिनका लागि भए पनि भूकम्पले अस्तव्यस्त बनाएको नेपालको स्थिति बुझ्न आए । सहयोगको आश्वासन पनि दिएर गए ।

‘नेपालमा भूकम्पले निम्त्याएको विनाश विश्वभरि ठूलो समाचार बन्यो । यस्तो दु:खद स्थितिमा विश्व तपाईंहरूको साथमा छ । सबैभन्दा ठूलो र महत्त्वपूर्ण भनेको मान्छेको जीवन हो, जुन भूकम्पले धेरैको लगेको छ,’ बुब्काले दशरथ रंगशालाको ट्रयाक र पौडी पोखरी निरीक्षणपछि भने । रंगशालाको ट्रयाक भूकम्पले उप्काएर खेल्न नहुने बनाएको छ । यो त्यही स्थान हो जहाँ नेपाली एथ्लेट्सहरूको दिनहुँजस्तो जम्काभेट हुन्छ । भूकम्पपछि रंगशालाको प्यारापिट झर्ला कि भन्ने त्राससँगै उनीहरूले अहिले अभ्यास गर्नुपरेको छ । यो उनीहरूको बाध्यता पनि हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सम्भावित अध्यक्षको रूपमा रहेका बुब्काले नेपाललाई आधुनिक सेन्थेटिक ट्रयाकको खाँचो रहेको तथ्य बुझिहाले । साथै नेपाल आफैंले यस्तो स्थितिमा केही गर्न पनि नसक्ने थाहा पाए । त्यसैमा उनको प्रतिक्रिया थियो, ‘भूकम्पले भौतिक पूर्वाधारमा पनि निकै क्षति पुर्‍याएको रहेछ । कुनै समर्थनबिना नेपाललाई यसबाट माथि उठ्न गारो छ । यस्तो बेलामा तपाईंहरूसँगैं हुनु मेरा लागि पनि महत्त्वपूर्ण छ ।’ नेपालले जग्गा उपलब्ध गराए उनी पाटनरसिप प्रोग्रामअन्तर्गत ट्रयाक बनाउन पहल गरिदिने उनले आश्वासन दिए । बुब्का भूकम्पले प्रभावित भक्तपुर र वसन्तपुर दरबार पनि पुगेका थिए । त्यसले पनि उनलाई अझ भावुक बनायो ।

..

‘हाई प्रोफाइल’ भए पनि नरम र मिजासिलो स्वभावका बुब्काले २४ घन्टे नेपाल बसाइमा प्रभावित पारे । नेपालबाट दक्षिण एसियाली खेलकुदमा तीनपटक स्वर्ण पदक जितेका कीर्तिमानी बैकुण्ठ मानन्धरसँगको परिचयपछि उनले भने, ‘म कहिल्यै लामो दौडिन सकिनँ । आफू फिट हुन र आफ्नो इभेन्ट तयारीका लागि म १५ सय मिटरसम्म दौडिने गर्थें ।’ अन्य खेलाडी तथा प्रशिक्षकसँग पनि उनी सहज रूपमा प्रस्तुत भएका थिए ।

खेलकुद बुझ्ने भएसँगै सुनेको व्यक्ति भेट्न पाउँदा मलाई उत्साहका साथै डर पनि लागेको थियो । यसअघि भेटिएका केही ‘हाई प्रोफाइल’ अलिक पन्छिने किसिमको पाएको थिए । तस्बिरका लागि आग्रह गर्दा उनले सहजै त्यसलाई स्विकारे ।

अन्तर्राष्ट्रिय स्पर्धामा नेपाली एथ्लेटिक्स निरन्तरजस्तो सहभागी छ । तर नेपालले त्यो अनुरूपको सफलता पाउन सकेको छैन । म्याराथनमा बाहेक नेपाललाई दक्षिण एसियामै पदक ल्याउन हम्मे छ । सफलता पाउन ५१ वर्षे बुब्काले नेपाली एथ्लेटिक्सलाई एउटा बुटी दिएर गएका छन्, जुन सहज रूपमा नेपालीले पनि प्रयोग गर्न सक्छन् । त्यो सामन्य बुटी हो, ‘हामी पनि यस्तै सामन्य अवस्थामै हुर्किएका हौं । हामी गल्लीमै खेल्थ्यौं । महत्त्वपूर्ण भनेको कडा मेहनत नै हो, तपाईंहरू पनि निकै मेहनत गर्नुस् ।’

राम्रो खेलाडी ल्याउन र सफलता पाउन प्रशिक्षकको ठूलो भूमिका हुने भएकाले त्यसमा पनि बढी ध्यान दिनुपर्ने सुझाव दिए । उनको भनाइ थियो, ‘हामीले हाम्रो बच्चालाई खेलकुद र एथ्लेटिक्समा ल्याउँदा बलियो भएर आउ भनेर पढाउनु पर्छ ।’ बुब्का ९ वर्षको उमेरमा ट्रयाक एन्ड फिल्डमा छिरेका थिए । त्यही भएर नेपाल भ्रमणमा उनले युवा कायक्रमलाई केन्द्रित गरे ।

बुब्का लङजम्प र दौडका राम्रा खेलाडी थिए । उनका छिमेकीहरू भने पोल समातिरहेका हुन्थे । त्यसपछि प्रशिक्षकले उनलाई पोल समातेर उफ्रिन प्रस्ताव गरे, बाँकी इतिहास बन्यो । प्रशिक्षकको राम्रो रेखदेखमा उनी हुर्केका थिए । प्रशिक्षक भिटाली पेट्रोभले उनलाई गाउँबाट डोनस्क ल्याएका थिए । साथमा उनका दाइ पनि थिए । दाइ पनि पोल भल्टर नै थिए । ६ वर्षपछि बुब्का १९८३ मा विश्व च्याम्पियनसिप खेल्न हेलिसिन्की गए । उनको बारेमा कसैलाई केही थाहा थिएन । उनले ५.७० मिटर नाघेर विश्वमा स्टारको आगमनको संकेत गरे । अर्को वर्ष उनले एक हप्ताको अन्तरमा २ विश्व कीर्तिमान बनाएर कीर्तमानको ओइरो लगाउन सुरु गरे ।

दशरथ रंगशालाको क्षतिग्रस्त सेन्थेटिक ट्रयाकमा उनले खेलाडी, प्रशिक्षक र पूर्वखेलाडीसँगको छलफलमा त्रिभुवन आर्मी क्लबका हाइजम्प खेलाडी सूर्य खत्रीलाई सोधे, ‘कति जम्प गर्नुहुन्छ ?’ खत्रीले भने, ‘१.९७ मिटर ।’ ४ दशक खेलाडीकै रूपमा मैदानमा बिताएका बुब्काले उनलाई सुझाव दिए, ‘अझ कडा मेहनत गर्नुस् ।’