बूढीआमाले ‘मन्त्री’ र नेतालाई कज्याइन् विपत्तिसँग भिड्न एमालेले ‘होलटाइम भोलेन्टियर’ बनाउने

0 40

यसपटक भूकम्पले तहस-नहस भएका गाउँबस्तीहरुमा पुग्दा मैले आफ्नो किशोर र युवा अवस्थालाई बिर्साउने ढंगले श्रम गरेँ । धेरै साथीहरुलाई लागेको रहेछ-नेता आउँछन्, यसो हात लाएजस्तो गर्छन् र फोटो खिचाएर फर्किन्छन् ।

मलाई पार्टीले राष्ट्रिय स्वयंसेवक अभियानको अनुगमनका क्रममा ललितपुर जिल्लामा खटायो । मैले ललितपुरको खोकना बुङमतीजस्ता शहरका बस्तीदेखि लेले र गोटीखेलजस्ता पहाडी गाउँहरुमा पनि गएर आफ्नो बुँताले भ्याएसम्म श्रम गरेँ ।

मेरा लागि शारीरिक श्रम उहिले बाध्यता थियो, अहिले आवश्कता पनि भएको छ । स्याङ्जामा जन्मिएँ । त्यहाँ पाखुरा नबजारी खान पुग्दैथ्यो । दुईजना रोपारले कोदो रोप्ने बारी त म दुईतीन घण्टामै खनेर सिध्याइदिन्थेँ । घाँस काट्ने, कोदालो खन्ने जस्ता श्रम मेरा लागि सामान्य हुन् । पछि पार्टीमा भूमिगत भएर हिँडेपछि श्रम गर्ने बानी कम हुँदै गएको मात्र हो ।

मैले यो स्वयंसेवक अभियानको शुरुवातकै बेला हाम्रा साथीहरुसँग भनेको थिएँ-यसलाई झारा टार्ने ढंगले लैजाने हो भने नगरौं, होइन भने सबै नेताले आ आफ्नो क्षमता अनुसार भौतिक श्रम गरौं ।

जोखिम मोल्दै आधा घण्टा

केही दिनअघि ललितपुरका लेलेमा पुगेको थिएँ । एकजना बुढा बाजेको घर धराप रहेछ । उहाँको घर भत्काएर अस्थायी घर बनाइदिने गरी हामी गयौं । उहाँले घर भत्काउँदा छानामा लगाइएका टायल चाहिँ नफुटाइदिए हुन्थ्यो भन्नुभयो । जोखिमपूर्ण घर हल्लिएको छ, यस्तोमा टायल कसरी निकाल्ने ? साथीहरु पछि हट्नुभयो । मैले भनें -आधा घण्टामै यो घर सफा गर्न सकिन्छ । त्यसपछि म आफैं घरको माथि चढेँ । साथीहरु हुँदैन भन्दै हुनुहुन्थ्यो, तीनतलामाथि गएर टायल झिक्न थालेँ ।

bishnu-poudle

हामी स्वयंसेवकहरु तलदेखि माथिसम्म लाइन लागेर टायल झिक्दै पास गर्दै गयौं । आधा घण्टाभित्र टायल सकुशल झिकेर जोखिमपूर्ण घर पनि भत्काइयो । त्यही बीचमा भूकम्पको सानो धक्का आएको भए पनि हामी जान्थ्यौं । घरधनीले साह्रै खुसी मानेर एमालेले कमालै गर्ने रहेछ भन्नुभयो ।

मैले राष्ट्रिय राजनीतिमा पनि धेरै समय दिनुपर्ने भएकाले हरेक दिन श्रम गर्न भ्याइँन होला, तर जति दिन गएँ हरेक ठाउँमा अरु साथीहरु सरह काम गरेको छु भन्छन् साथीहरु । काम गर्ने भनेपछि म त्यही अनुसारको लुगा लाएर जान्छु ।

बूढीआमाले ‘मन्त्री’लाई कज्याइन्

ललितपुरकै गोटीखेलतिर हो कि कुन गाउँमा मैले बिर्सेँ, एकजना बुढीआमाको घर भत्काउने र अस्थायी टहरो बनाउने काम गरियो । म आफैं खटिएर काम गरियो । अन्तिममा आमाले खुसी हुँदै सर्वत खुवाउनुभयो ।

कुनै साथीले उहाँ त एमालेको नेता, पूर्वरक्षामन्त्री हो भन्नुभएछ । हिँड्ने बेलामा ती आमालाई सोधेँ- कस्तो लाग्यो त हाम्रो काम ? आमाले निर्दोष भावमा भन्नुभयो-भुँइचालाले घरबास उठायो, साह्रै दुःख लाग्यो । तर, आज तपाईहरु जस्ता नेता र मन्त्रीलाई कज्याउन पाउँदा खुसी लागेको छ ।

वास्तवमा उहाँजस्ता धेरै सर्वसाधारणले नेता कार्यकर्ताहरुलाई काम लाउन पाइयो भनेर खुसी व्यक्त गर्नुभयो ।

स्वयंसेवी अभियान हामीले ख्याल ख्यालमा गरेका होइनौं । २८ हजार स्वयंसेवक पूर्णकालीन रुपमा एक महिनाका लागि खटिएका छन् । हामीले जनताको घरमा पानी पनि नखाने नीति बनायौं । हामीलाई डर थियो, कतै हाम्रा कार्यकर्ताले आचारसंहिता उल्लंघन गर्ने हुन् कि भन्ने । तर, सन्तोषका साथ भन्नुपर्छ, आजसम्म कतैबाट पनि कुनै गुनासो आएको छैन । ज्यान हत्केलामा राखेर काम गरेका छन् । भूकम्प प्रभावित बस्तीमा पूरै एमालेमय भएको अवस्था छ ।

जनतालाई जगायौं

यसक्रममा सामान्य घाइते त म पनि भएँ । तर, जोखिमपूर्ण घरहरुको माथिबाट लडेर केही साथी गम्भीर घाइते हुनुभएको छ । एकजना साथी युवा संघका उपत्यका अध्यक्षलाई हामीले साँखुमा गुमायौं । जनताको लागि एकपटक ज्यान हत्केलामा राखेर काम गरौं भनेरै हामी मैदानमा उत्रिएका हौं ।
madhesi
हामीले कति घर बनायौं, कति स्कूल बनायौं भन्ने भन्दा पनि विपत्तिमा परेर निराश भएका जनताको मुहारमा उत्साह ल्याउन सफल भएका छौं । सबैभन्दा ठूलो कुरा जनतामा आत्मविश्वास जगाउनु थियो, त्यसमा हामी सफल भयौं ।

अरुले जेसुकै भनुन्, वास्तवमा एमालेले यसपटक गाउँ बस्तीलाई ब्युँझाउन सफल भएको छ । अरु पार्टीका मान्छे पनि ठाउँ ठाउँमा गए, तर उनीहरु संगठित रुपमा नगएकाले एक दुई दिन पनि बस्न सकेनन् । तर, हामी संगठित र योजनाबद्ध रुपमा गयौं । त्यसैले गर्दा एक महिनाको अवधिमा हाम्रा स्वयंसेवकले चमत्कारिक रुपमै काम गरे ।

एकजना सेनाका अधिकृतको भनाइले मलाई निकै छोयो । उनी भन्दै थिए-यस्तो जोखिमपूर्ण काम त कि चीनका जनमुक्ति सेनाले गर्थे, कि एमालेका कार्यकर्ताले गर्दा रहेछन् ।

होलटाइमर भोलेन्टियर

भूकम्पको यो महाविपत्तिपछि अब हामीले केही दीर्घकालीन सोच बनाउनुपर्ने देख्यौं । भूकम्पको भन्दा धेरै ठूलो अकल्पनीय क्षति अब वर्षा सिजनमा बाढी पहिरोले ल्याउने देखि सकियो । यस्तो अवस्थामा अब एमालेले होलटाइमर भोलेन्टियरको टिम बनाउनुपर्छ भन्ने बारेमा हामीबीच छलफल हुदैछ ।

भोलेन्टियर भन्नाले लडभिड गर्ने खालको टिम होइन कि,विपत्तिको बेला जनतालाई अन द स्पट सघाउने खालको टिम । सम्भवतः हामीले अब प्राकृतिक विपत्तिसँग जुध्न र जनतालाई जोगाउनका लागि पार्टीको होलटाइमर स्वयंसेवक टिम बनाउछौं । कतै विपत्ति पर्नासाथ जनताले एमालेका कार्यकर्ताको साथ पाउने गरी त्यस्तो सोच बन्दैछ ।

– Source:onlinekhabar