व्यापारिक नाका रसुवागढीमा आवतजावत रोक

0 10

३२ जेठ, नुवाकोट ।नेपाल र चीनबीचको दोस्रो ठूलो व्यापारीक नाका रसुवागढीमा आवतजावत गर्न रोक लगाइएको छ। भूकम्पले क्षति पुर्‍याएको सडकमा वर्षा सुरु भएसँगै पहिरो जाने क्रम बढेपछि स्थानीय प्रशासनले आवतजावतमा सर्वसाधारणलाई रोक लगाएको हो।

रसुवा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक अन्य उद्देश्यका लागि सर्वसाधारणलाई रसुवागढी जान रोक लगाइएको जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालका अनुसार रसुवागढी नाका जान साढे १५ किलोमिटर वरै रहेको स्याफ्रुबेसीमा रहेको प्रहरी पोस्टको अनुमति आवश्यक पर्छ। अत्यावश्यक काम नभएकालाई उनीहरूकै सुरक्षाको कारण रोक लगाइएको रिमालले बताए।

‘पहिरो निरन्तर गइरहेको छ। कच्ची सडकमा भूकम्पका कारण पहिरो खसिरहेकाले असुरक्षा बढेको छ’, सहायक प्रजिअ रिमालले भने,’सायद वर्षा अगाडि रसुवागढी नाका सञ्चालन हुन सम्भव नहोला।’

उता, रसुवाको पश्चिमी भेगमा रहेको हाकु गाविसको मैलुङको पहिरोमा परेर धेरै गाउँ बगेका छन्। यहाँका सबै बासिन्दा नुवाकोटलगायत विभिन्न स्थानका शिविर बनाएर बसिरहेको प्रसाशनले जानकारी दियो।

वैशाख १२ गतेको भूकम्पका दिन रसुवागढी नाकामा माथिबाट भीषण पहिरो जान सुरु गरेको हो। भूकम्पका कारण गएको पहिरोले अध्यागमन, भन्सार, गोदाम, प्रहरी कार्यालय, होटेल सबै पुरिएका छन्। अधिकांश भवन जमिनभन्दा कति तल पुगे भन्ने अझै यकिन नभएको अवस्था छ।