च्छो रोल्पामा ‘राडार सेन्सर’ जडान तल्लो तटीय क्षेत्रमा पूर्व सूचना प्रणाली

0 10

काठमाडौं, जेष्ठ ३२ – जल तथा मौसम विज्ञान विभागले उच्च जोखिममा रहेको भनिएको च्छो रोल्पा हिमताल र तल्लो तटीय क्षेत्रको वस्तीमा बाढीको पूर्व सूचना दिने प्रणाली जडान गरेको छ ।

विभागबाट खटिएको प्राविधिकहरुको टोलीले शनिवार र आइतबार च्छो रोल्पा हिमतालमा पानीको सतह नाप्ने ‘राडार सेन्सर’ र तल्लो तटीय क्षेत्रको वस्ती बेदिङमा साईरन -पूर्व सूचना प्रणाली) जडान गरेको हो ।

महाभुकम्प र त्यसपछि आएका हजारौं कम्पनले हिमतालमा तत्कालै असर नपुर्‍याए पनि संभावित खतरालाई मध्यनजर गर्दै पानीको सतह नाप्ने ‘राडार सेन्सर’ र तल्लो तटीय क्षेत्रमा सूचना दिने साइरन जडान गरिएको विभागका महानिर्देशक डा.ऋषिराम शर्माले जनाए ।

भुकम्पले हिमतालक्षेत्र र वरपर पारेको असर अध्ययन गर्न विभागले शनिवार यूएनडिपिको आर्थिक सहयोगमा सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विष्फोटन जोखिम न्युनिकरण आयोजना’का प्राविधिक सल्लाहकार प्रविण मास्के र विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख राजेन्द्र शर्मालाई शनिवार च्छो रोल्पा खटाएको थियो ।

‘तालमा भुकम्पले कुनै असर नगरेको टोलीले हामीलाई जानकारी गराएको छ’, डा.शर्माले भने, ‘तालको पानी खस्ने ठाउँमा चिरा पर्‍यो भने खतरा हुने हो, त्यहाँ त्यस्तो समस्या देखिएन ।’

प्राविधिकहरू मास्के र शर्मासहित ‘रियल टाईम सोलुशन’ कम्पनीका इन्जिनियरले हिमतालको पानी नाप्ने राडार सेन्सर र तल्लो तटीय क्षेत्रमा पूर्व सूचना दिने प्रविधि जडान गरेका हुन् । मास्के र शर्मा फर्किसकेका छन् भने अन्य टोलीले काम गरिरहेको छ ।

महाशाखाका बाढी पूर्व सूचनाविज्ञ विनोद पराजुलीका अनुसार तालमै जडित राडार सेन्सरले पानीको सतह घट्ने वित्तिकै विभागको वेबसाइटमै सूचना -डाटा) पठाउनेछ । महाशाखामा २४ सै घण्टा ड्युटीमा रहेका विशेषज्ञहरुले त्यसको विश्लेषण गर्नेछन् ।

‘अहिले जडित प्रविधिले दुई मिटर वा एक मिटर तालको पानी घट्ने वित्तिकै सेन्सरमार्फत् हामीकहाँ सन्देश आउनेछ’, विज्ञ पराजुलीले आइतबार कान्तिपुरलाई भने, ‘पहिल्यै सूचना पाउने भएकाले संभावित क्ष्ाती न्युन गर्न सहयोग पुग्नेछ ।’ तालका साथै हिमताल तलको बेदिङ गाउँमा पनि पूर्व सूचना दिन साइरन जडान गरिएको छ । च्छो रोल्पा तालको नजिकको ना गाउँ भन्दा केही तल पनि विभागले पानी मापन गर्ने राडार जडान गरेको छ ।

त्यसतल सिंगटीमा स्वचालित राडार जडान गरिएको छ । त्यसले वषर्ाको विवरण र नदीको पानीको सतहको सूचना दिन्छ । यस्तै,  जिरी जाने सडकनिर पनि वषर्ा र पानीको सतह नाप्ने उपकरण जडान भएको गरिएको ।

च्छो रोल्पा हिमताल विष्फोट भए बेदिङ, गोंगरको तामाकोशी जलविद्युत आयोजना, सिंगटी हुँदै रामेछाप र त्यसतलका बस्तीमा असर गर्नेछ । त्यही भएर विभागले तल्लोतटीय क्षेत्रमा पूर्व सूचना प्रणालीमा जोड दिएको हो ।