खुल्यो नेपाल

0 13

काठमाडौं, जेष्ठ ३२ – मुलुकको पर्यटन क्षेत्र ठिकठाक रहेको खबर विश्वव्यापी रुपमा सम्प्रेषण गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव्हान गर्दैछ ।

सोमबार आयोजना हुने औपचारिक कार्यक्रममा मन्त्रालयले विदेशी नियोग, दुतावास, पर्यटन व्यवसायी, संचारकर्मी लगायत पर्यटन क्षेत्रसँग सम्वन्धित सरोकारवालालाई सहभागी गराउने भएको छ । पर्यटन मन्त्री कृपाशुर शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रबाट यस्तो घोषणा गर्न लागेका हुन । पर्यटन बोर्डले यसको संयोजन गर्दैछ ।

भुकम्पले करिब सवा ८१ अर्ब रुपैया बराबरको भौतिक र आम्दानी क्षती ब्यहोरेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले यस्तो कार्यक्रम गर्न लागेको पर्यटन विभागका महानिर्देशक तुलक्षी गौतमले जानकारी दिए । भृकुटीमन्डपस्थित पर्यटन प्रहरीका अनुसार हालसम्म ७९ पर्यटकको भुकम्पमा परी मृत्यु भएको छ । ६९ पर्यटक हराइरहेका छन् ।

गौतमका अनुसार सोमबारदेखी राजधानीभित्रका सम्पदा पर्यटकका लागी खुल्ला भएको औपचारिक आव्हान गरिनेछ । ‘चागुनारायणबाहेक ललितपुर, भक्तपुर र काठमाडौंका सम्पदा पर्यटककालागी खुला भएको खबर गरिनेछ,’ गौतमले भने । उनका अनुसार भुकम्पपछीको नेपाल हेर्न चाहाने पर्यटककालागी सम्पदा खुला गरिएको हो । कतिपय जान नमिल्ने ठाउ बाहिरैबाट अवलोकन गराइने छ । ध्वस्त भएका ठाउमा पहिलेको सम्पदा र अहिलेको सम्पदा भनेर तस्वीरबाट जानकारी गराइने छ ।

पुरातत्व विभागका अनुसार, राजधानीसहित २२ जिल्लामा ७ सय ३३ वटा पुरातात्विक संरचना भत्किएका छन् । यिनको हिसाब आकलन गर्न नसकिने भएपनि मन्त्रालयले यी संरचनाको पुननिर्माणकालागी ७ अर्ब ५ करोड रुपैया लाग्ने प्रारम्भीक अनुमान गरेको छ ।

प्रभावित क्षेत्रमा १ हजार ५ सय गुम्बा नष्ट भएकाछन् । यीनको पुर्ननिर्माणमा १२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै १ हजार ५ सय ५९ वटा होटलमा क्षति पुगेको छ । यी सबै होटलहरुमा भएको क्षति कम्तीमा पनि १५ अर्ब २९ करोड रुपैया बराबरको मानिएको छ । मन्त्रालयले लाङटाङ र मनास्लुबाहेक अन्य पर्वतीय क्षेत्रका रुट शुरक्षित रहेको दाबी गरेको छ । टे्रकीङ्ग रुट तर्फ २३ करोड २५ लाख रुपैया बराबरको क्षति भएको भनिएको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, करिब १ सय ५५ किलोमिटर मादमार्ग पुर्ण क्षति भएको छ भने १९ करोड ३६ लाख रुपैया बराबरको २ सय ४२ किलोमिटर पदमार्गमा  आंशिक क्षति पुगेको छ ।

पर्यटन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं- सरकारले भूकम्प आएपछि संकटग्रस्त बनेको मुलुकको पर्यटन क्षेत्रमा विदेशी पर्यटकहरूलाई पुनः आकषिर्क गरी पुरानै जीवन्त अवस्थामा फर्काउन उच्चस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुलुकको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न पर्यटनमन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा पर्यटन प्रवर्द्धन समिति गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । समितिमा पर्यटन सचिव सुरेशमान श्रेष्ठ उपाध्यक्ष तथा सदस्यमा पर्यटनसँग सम्बन्धित संघसंस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूलाई राखिएको छ ।

समितिलाई भूकम्प आएपछि खतरामा रहेको भनेर आफ्ना नागरिकलाई नेपाल नजान सूचित गर्ने विभिन्न देशहरूलाई अब मुलुकमा कुनै खतरा नरहेको जानकारी गराई पर्यटन प्रवर्द्धन गर्ने तथा ध्वस्त भएका पुरातात्विक सम्पदाहरूको पुननिर्माणको अवलोकन गरी त्यसको संसारभर प्रचारप्रसार गर्ने जिम्मेवारी दिइएको स्रोतले दिएको छ ।

पर्यटकलाई लोभ्याउने विश्व सम्पदा सूचीमा परेका आठवटा पुरातात्विक सम्पदाहरू सबै ध्वस्त भएको भनेर संसारभर गएको गलत सन्देशलाई चिर्न पहल गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ । समितिलाई नेपालमा पुरातात्विक सम्पदा केही ध्वस्त भए पनि धेरैजसो सुरक्षित र विदेशी पर्यटकले हेर्न लायक धेरै बाँकी रहेको सन्देश संसारभर प्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने जिम्मासमेत दिइएको छ