खासाबाट दसैंका सामान नआउने तातोपानी कम्तीमा चार महिना बन्द हुने

0 10

तातोपानी (सिन्धुपाल्चोक), जेष्ठ ३२ – भूकम्पले सीमा क्षेत्रमा सुख्खा पहिरो नरोकिएपछि नेपाल-चीन व्यापारको प्रमुख नाका तातोपानीबाट यस वर्षको दसैंका सामान आयात नहुने भएको छ । भूकम्प गएलगत्तै बन्द भएको नाका ठप्प छ । मितेरी पुलमा क्षति पुगेको भन्दै चिनियाँ पक्षले सवारी साधनको आउजाउ नै बन्द गरेपछि ल्हासा र खासा गोदाममा रहेको झन्डै २ अर्बभन्दा बढी मूल्यका सामान त्यतै थन्केको छ । खासा भन्सार (स्याङ्जे) ‘क्लियर’ गरिएका सयभन्दा बढी कन्टेनर रमिते बजारमा अलपत्र छन् ।

तातोपानी चिनियाँ सामान आयात गर्दै आएको प्रमुख व्यापारिक नाका हो । यो नाकाबाट विशेषतः तयारी पोसाक, जुत्ता, चप्पल, फर्निचर, खेलौना, मखमल, कपडा, स्टेसनरी र विद्युत् सामग्री आयात हुने गर्छ । विशेषतः निम्न र मध्यम वर्गले चिनियाँ कपडा प्रयोग गर्दै आएका छन् । भन्सार डेढ महिनादेखि सुनसान छ । बर्सेनि ५ अर्बभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो । ‘दसैंअघि तातोपानीबाट सामान आयात हुने सम्भावना देखिँदैन,’ हिमाल सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीले भने, ‘अहिले खासा र ल्हासामा थन्केका सामान भित्र्याउने प्रयासमा छौं ।’ उनका अनुसार ल्हासास्थित वाणिज्य दूतावासमार्फत प्रक्रिया अघि बढाइएको छ । यो सातामै सामान आयात प्रक्रिया सुरु हुने विश्वास उनको छ । ‘अन्य नाकाबाट ल्याएर भए पनि दसैंमा बजारमा सामानको कमी हुन दिँदैनौं,’ उनले भने ।

दसैं र जाडोका सामान ल्याउन चिनियाँ बजारमा चार महिनाअघि नै ‘अर्डर’ गर्नुपर्छ । यो नाका अस्तव्यस्त भएपछि व्यापारीहरू जहाजबाट सामान ल्याउन चीन जान थालेका छन् । उनीहरूले अर्डर गरेको सामान ४० देखि ४५ दिनमा वरिगन्ज, विराटनगर र भैरहवाबाट नेपाल भित्रनेछ । तातोपानीबाट भने १५ देखि २० दिनमा सामान खासा आइपुग्ने गरेको थियो । भूकम्प आउनुअघि भन्सार यार्डमा थन्किएका सामान चिनियाँको सहयेगामा बाह्रबिसेम्मको सडक खुलाएर राजधानी भित्र्याइएको थियो । भन्सार प्रमुख दिव्यराज पोखरेलका अनुसार हाल राजमार्गको अँधेरी भन्ने स्थानमा अस्थायी चेक पोस्ट राखिएको छ । कर्मचारी धेरैजसो राजधानीमा छन् । ‘तत्काल नाका खुल्ने र काम गर्ने परिस्थिति नभएपछि महत्त्वपूर्ण कागजपत्र राजधानी लगिएको छ,’ पोखरेलले भने, ‘एयरपोर्टमा भन्सार कार्यालय खडा गरिएको छ ।’

करोडौं नोक्सान

खासा क्षेत्रको रमिते जंगलमा लामबद्ध कतिपय मालवाहक कन्टेनर पहिराले पुरेको छ । केही कन्टेनर भोटेकोसीमा खसेका छन् । भन्सार ‘क्लियर’ गरिएका कन्टेनर नेपाल प्रवेश गर्ने क्रममा भूकम्प आएपछि जंगलमा रोकिएका थिए ।

कन्टेनर र त्यसमा लोड गरिएको सामानको अवस्था व्यापारीलाई जानकारी छैन । खासा प्रशासनले मितेरी पुलबाट आउजाउ गर्न दिएको छैन । ‘एकातिर बाह्रबिसेबाट तातोपानी पुग्न २६ किमि सडक पार गर्न निकै ठूलो जोखिम मोल्नुपर्छ,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले भन्छन्, ‘कुन व्यवसायीको कति सामान नोक्सानी भयो यकिन छैन ।’

चिनियाँले भने मितेरी पुललाई भूकम्पले क्षति पुर्‍याएकाले कन्टेनर छाड्न कठिन भएको बताउँदै आएको छ । पुलको दायाँबायाँका फुटपाथको केही भाग भत्केको छ । पुलको नेपालतर्फको भागमा चिनियाँले ‘फलामको टेको’ लगाएका छन् । खासाको सामान आयात गर्न नसक्दा बजारमा लागनी गरिएको करोडौं उठ्न सकेको छैन । विशेषतः ‘क्यारिङ’ व्यापारी सबैभन्दा बढी मारमा परेका छन् । ‘एकातिर व्यापारै बन्द छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले भने, ‘खासामा भएको सामान ल्याउन नसक्दा पार्टीले भुक्तानी दिएका छैनन् ।’ सामान आयात गर्दा भन्सार छुटाउन क्यारिङ व्यवसायीले लागनी गर्ने चलन छ । खास आयातकर्ताले भन्सार छुटाएको रकम नदिएपछि बजारमा करोडौं रुपैंयाँ थन्केको व्यवसायी बताउँछन् ।

सामान छाड्न सरकारी आग्रह  

ल्हासा, खासा र रमितेको जंगलमा रहेको अर्बभन्दा बढीका सामान छाड्न सरकारले चिनियाँ पक्षलाई पटकपटक आग्रह गर्दै आएको छ । स्रोतका अनुसार सरकारको अनुरोधपछि खासा प्रशासनले तयार गरेको विवरण ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई दुई दिनअघि उपलब्ध गराएको छ । खासा गोदाम र सडकमा रहेका कन्टेनर तथा सामानको अवस्थाका विषयमा महावाणिज्य दूतलाई लिखित जानकारी गराएको छ । नेपाली व्यापारीले भने तत्काल रसुवाको नाका खोलेर भए पनि ल्हासाको सामान नेपाल भित्र्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै आएका छन् । सरकारी स्रोतका अनुसार खासा प्रशासन केही दिनपछि सामान छाड्ने तयारी गरिरहेको छ । ‘तातोपानी भन्सार, अध्यागमन र व्यापारी प्रतिनिधिको सहभागितामा सामान छाड्ने तयारी भइरहेको छ,’ अध्यक्ष खत्रीले भने ।

भूकम्पपछि डेढ महिनादेखि सुनसान तातोपानी नाका ।