चीनले नाका बन्द गर्दा सेवा ठप्प

0 6
काठमाडौं: वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत प्रशासनले अनिश्चितकालका लागि सीमा नाका बन्द गरेपछि रसुवागढी र कोदारी नाकाबाट हुने अध्यागमन, भन्सार र क्वारेन्टाइन कार्यालयका गतिविधि ठप्प भएका छन्।
भूकम्पका कारण अझै केरुङ र खासा जाने बाटोमा भीरबाट ढुंगा खस्ने क्रम नरोकिएको कारण जनाएर तिब्बत प्रशासनले असुरक्षित महसुस गर्दै नाका खोल्न नसकेको जानकारी नेपाली अधिकारीहरूले पाएका छन्।
अध्यागमन कार्यालय कोदारीका प्रमुख प्रह्लाद पोख्रेलले नाका नखुल्दा खासामा अलपत्र रहेका ट्रक ल्याउन कठिनाइ भएको बताए।
‘नाका खुलाउनेबारे मितेरी व्यापार संघ र तिब्बत प्रशासनबीच छलफल भइरहेको छ’, पोख्रेलले अन्नपूर्णसँग भने, ‘ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासले पनि स्थानीय प्रशासनसँग सीमा नाका खुलाउनेबारे पहल गरिरहेको छ।’
काम नभएपछि रसुवागढी र कोदारीमा खटिएका अध्यागमन, भन्सार र क्वारेन्टाइनका अधिकांश कर्मचारी काठमाडौं फर्किएका छन्।
सीमा नाका लामो समयसम्म नखुल्दा खासा र केरुङबाट नेपाल भित्रिने दर्जनौं मालवाहक ट्रक सीमा क्षेत्रमा रोकिएका छन्। मितेरी पुलमा समेत क्षति पुगेकाले मालवाहक ट्रकमा तिब्बती पक्षले रोक लगाएको छ। क्षतिग्रस्त मितेरी पुल पुनर्निर्माण गर्न चीन सरकार तयार देखिएको छ।
त्यसका लागि चीन सरकारका सडक इन्जिनियर र प्राविधिक टोलीले मितेरी पुलको अवलोकन गरेको छ। यसवाहेक चीनबाट आएको प्राविधिक टोली र भौतिक योजना तथा निर्माण मन्त्रालयका प्राविधिकको संयुक्त टोलीले सडक र पुलको अध्ययन पनि गरिसकेको छ।
भौतिक योजना मन्त्रालयका एक अधिकारीले भने, ‘दुईपक्षीय प्राविधिक टोलीले संयुक्त अध्ययन गरेको छ। त्यस क्षेत्रमा भत्किएका संरचना निर्माण गर्नेबारे छलफल गर्न चिनियाँ पक्ष छिट्टै नेपाल आउँदैछ।’
केरुङ र खासासम्म जाने सडक खुलिसकेको छ। नेपाली र चिनियाँ सेनाले केरुङ र खासा जोड्ने सडकमा झरेको पहिरो हटाइसकेका छन्।
तिब्बतको नेलम जिल्लाको झयाङ्बु (खासा) मा भूकम्पका कारण धेरै घर भत्किएकाले अधिकांश बासिन्दालाई त्यहाँबाट चार सय किलोमिटर टाढा सिगात्सेमा सारिएको छ।
खासामा रहेका अध्यागमन र भन्सार कार्यालयमा समेत ठूलो क्षति भएकाले तिब्बती पक्षले नाका खुलाउनेबारे ढिलाइ गरेको हुनसक्ने नेपाली अध्यागमनका एक अधिकृतले बताए।
तिब्बतको स्थानीय प्रशासनले नाका बन्द गरे पनि नेपालको अध्यागमन विभागले रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको अँधेरीमा अस्थायी अध्यागमन कार्यालय स्थापना गरी सेवा नियमित गर्ने तयारी गरेको छ।
गृह मन्त्रालयका सचिव सूर्य सिलवालले नेपालका तर्फबाट भन्सार, अध्यागमन कार्यालय र प्रहरीलाई एकै ठाउँ राखेर काम सुरु गर्न निर्देशन दिइसकिएको बताए। उनले भने, ‘हाम्रोतर्फबाट तयारी गरेका छौं।
चीनतर्फबाट के भएको हो म बुझ्छु।’ अध्यागमन विभागले रसुवागढी र अँधेरीमा कर्मचारी खटाइसकेको छ। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले सिमा खोल्ने विषयमा तिब्बती प्रशासनसँग छलफल भइरहेको बताए।