पालमुनिका महिलालाई जुडो र कराँते सिकाइँदै

0 6

३१ जेठ, काठमाडौं । केही दिनयता प्रहरीले पालमा बसेका महिला तथा बालबालिकालाई जुडोको लक तथा करातेका ‘ट्रिक’हरु सिकाइरहेको छ । भूकम्पपीडित महिला तथा बालबालिकालाई खेलाडी बनाउन प्रहरीले यस्तो तालिम दिएको होइन्, यौनहिंसाबाट जोगिन ‘सेल्फ डिफेन्स’ कला सिकाइएको नयाँ पत्रिकामा खबर छ ।

बौद्धका शिविरमा बस्दै आएका महिला तथा बालबालिकालाई करिब पाँच दिनको यस्तो तालिम दिएपछि भक्तपुरमा पनि महानगरीय प्रहरीले तालिम सुरु गरेको छ । ‘भूकम्पपीडित महिला तथा बालबालिका सामूहिक रुपमा शिविरमा बस्दै आएका छन्,’ उक्त तालिमको संयोजन गरिरहेका डिएसपी तारा थापाले भनिन्, ‘उनीहरुमाथि यौनजन्य हिंसा हुन सक्ने देखेर यस्तो हिंसाबाट बच्नका लागि यस्तो तालिम दिइएको हो ।’

आफूहरुमाथि यौनहिंसा भएमा कसरी किक हान्ने भन्नेसम्मको तालिम उनीहरुलाई दिइएको छ । त्रिपालमा बस्दै आएकी एक बालिका बलात्कृत भएकी छिन भने अन्य चार जनामाथि बलात्कार प्रयास भएको थियो । अन्य यौनजन्य हिंसाका घटना पनि बारम्बार प्रहरीमा रिपोर्ट हुने गरेको छ ।