भूकम्पपछि जस्तापाताको उत्पादन दोब्बर

0 4

३१ जेठ, काठमाडौ । भूकम्पपछि जस्तापाताको आवश्यकता बढेसँगै उद्योगीहरुले यसको उत्पादन दोब्बर बनाएका छन् । बजार मागअनुसार उत्पादन भइरहेको जस्ता उद्योग भूकम्पपछि हाल चौबिसै घण्टा सञ्चालन भइरहेका छन् ।

भूकम्पप्रभावित जिल्लामा अस्थायी टहरा निर्माणका लागि जस्तापाताको माग बढेपछि सरकारले उत्पादन सहज बनाउन उद्योगलाई चौविसै घण्टा विद्युत उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयसँगै उद्योगीले पनि उत्पादन दोब्बर गरेको गोरखापत्रमा खबर छ ।

बजार माग पूरा गर्न चौबिसै घण्टा उद्योग सञ्चालन गरेर नियमित उत्पादन गरिरहेको भगवति स्टिल इण्डिष्ट्रिजका प्रबन्ध निर्देशक शशीकान्त अग्रवालले जानकारी दिए ।

भूकम्पअघि १२ घण्टा मात्रै सञ्चालन हुँदै आएको राजेश मेटल क्राफ्टले पनि अहिले २४ सै घण्टा उत्पादन गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक राजेश अग्रवालले जानकारी दिए । उत्पादन समय बढेपछि उद्योगले ८० टनबाट आफ्नो उत्पादन दोब्बर गरेर दैनिक १६० टन उत्पादन गरिरहेको उनले बताए ।

भारतसहित दक्षिण एसियाका अन्य केही राष्ट्रमा समेत जस्तापाता निर्यात गर्दै आएको आरती स्टि्रप्सले यतिबेला भने नेपालमै खपत गर्ने गरी जस्तापाता उत्पादन गर्दै आएको सहायक प्रबन्ध निर्देशक दिब्य सापकोटाले जानकारी दिए ।

f