बहस : काठमाडौं उपत्यकालाई कस्तो बनाउने ?

June 14 2015 16:25

३१ जेठ, काठमाडौं । हामीले कति मानिस बसोबास गर्ने काठमाडौंको कल्पना गरेका छौं ? वामपन्थी नेता नारायणमान विजुक्छेले उपत्यकालाई सांस्कृतिक शहर बनाउनुपर्छ भन्दै आउनुभएको छ, अर्कोतिर आधुनिक स्मार्ट सिटी बनाउने कुरा पनि गर्दैछौं । आखिर काठमाडौंले कति लाख मानिस धान्न सक्ला ?

काठमाडौं-४ का सभासद गगन थापा आइतबार विज्ञहरुसहितको एक छलफलमा यस्तै प्रश्न गरिरहेका थिए । गत वैशाख १२ र २९ को विनाशकारी भूकम्पपछि पुनर्निर्माणको यस्तै बहस चलिरहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्यक्ष एवं समानुपातिक सभासदहरु पनि उपत्यकालाई कस्तो बनाउने भनेर बहसमा जुटेका छन् ।

कांग्रेस सभासद थापा कस्तो काठमाडौं बनाउने भन्ने बहसलाई भूकम्पपछिको पुनर्निर्माणसँगै जोडर हेर्नुपर्ने बताउँछन् । उनले आइतबारको कार्यक्रममा भने-‘६०/७० लाख मानिस बस्ने राजधानी शहर जसले आधुनिकता र पुरानो मौलिकतालाई जोडन सकोस् ।’

राजनीतिक इच्छाशक्ति चाहिन्छ

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्माले काठमाडौंभित्र अति केन्द्रित गर्ने सोच रहेको भन्दै बदल्नुपर्ने बताए । सबै कुरालाई काठमाडौं पनि केन्द्रित गर्ने र सन्दुर पनि बनाउँछु भनेर सम्भव नभएको बताए ।

Pitamber-sharma

कति जनसंख्या राख्ने र त्यसको सीमा के हो भनेर सोच्नुपर्ने उनले बताए । अनवरत रुपमा बढ्ने प्रत्येक शहरको कथा भएको र त्यसवाट काठमाडौं पनि अछुतो रहन नसक्ने बताउँदै शर्माले भने-‘बढी जनसंख्या बढ्न नदिन भू-उपयोग नियन्त्रण गर्नुपर्छ ।’

अब राजनीतिक इच्छाशक्तिको अभावमा भू-उपयोग नियन्त्रण हुन नसकेको भन्दै पूर्वउपाध्यक्ष शर्माले अहिले पनि त्यो इच्छाशक्ति नहुने हो भने कुरै नगर्न सुझाव दिए ।

दोस्रो रिङ रोड नबनाउन सुझाव

शहरीकरण तिव्र भइरहेको भन्दै डा. शर्माले दोस्रो रिङ रोड बने यसले अझ शहरीकरण बढाउने बताए । दोस्रो रिङ रोड बनाउन रोक्नुपर्ने भन्दै उनले ल्याण्ड पुलिङ गरेेर नयाँ बस्तीहरु बसाल्नुपर्ने बताए ।

साथै व्यक्तिगत रुपमा आफूखुसी घर बनाउने परिपाटीलाई निरुत्साहित गर्नुपर्नेमा डा. शर्माले जोड दिए ।

मेट्रो रेल आवश्यक

पूर्वाधार क्षेत्रका विज्ञ एवं प्राध्यापक डा. सुरेशराज आचार्यले काठमाडौंमा मेट्रो रेलका लागि योजना बनाउन ढिला भइसकेको बताए । ‘मेट्रो रेल चाहिन्छ कि चाहिँदैन भन्ने होइन, अब कहिले भन्ने मात्र हो’ उनले भने-‘योजना सुरु गरेको पहिलो लाइनका लागि १० वर्ष लाग्छ । हामीकहाँ योजनाको कुरा गर्न ढीला भइसक्यो ।’

नेपालमा सार्वजनिक यातायात बाध्यता र अवसर भएको उनको धारणा थियो । ५० वर्षको काठमाडौं कस्तो बनाउने भन्ने भिजन राजनीतिक नेतृत्वमा देखिएको र हामी सही बाटोमा रहेको उनले बताए ।

ठूला निर्णय गर्न कि राजनीतिक कि भौतिक भूकम्प चाहिने भए पनि नेपालमा मानसिक भूकम्पले ठूलो काम गरेको बताए । उनले भने-मेरो घर नजिकमा मानिसहरुले नक्सा पास विपरीत बनेका तलाहरु भत्काउन थालेका छन् । यो ठूलो कुरा हो ।’

भूकम्पपछिको विनाश नेपालका लागि अवसर हुन सक्ने भन्दै उनले मेट्रो रेलको योजना र गुरुयोजना बनाउन सुरु गर्नुपर्नेमा जोड दिए । उनका अनुसार एउटा लाइनका लागि ६०/७० अर्ब रुपैयाँ लाग्छ ।

सम्पदा बोझ होइन, गर्व

Sudarsan-tiwari

सम्पदाका विज्ञ सुर्दशन तिवारीले उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई मौलिक शैलीमा बनाउनुपर्ने बताए । उनले भने-‘भूकम्प आउनुअघिसम्म सम्पदाहरु बोझजस्तै थियो । गर्वको रुपमा लिनुपर्छ ।’

हाम्रा बाहुबाजेले बनाउन जानेर नभई हामीले मर्मत नगरेर बढी क्षति भएको उनले बताए । भूकम्प प्रतिरोधात्मक बनाउने नाममा पुरानो स्वरुप बिगार्न नहुने भन्दै उनले स्थानीय समाग्री र प्रविधिहरुलाई पनि प्रयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्धन केन्द्र रामप्रसाद धितालले उर्जाको सञ्चय योजना नभए संकट आउन सक्ने बताए । अहिले धेरैको ध्यान हाइड्रो पावरमा मात्र केन्दि्रत भएको भन्दै उनले सौर्यउर्जा र पेट्रोलको विकल्प खुला राख्नुपर्ने बताए ।

उनले काठमाडौं उपत्यकाको फोहोरबाट ग्यास वा विद्युत निकाल्न सकिने भन्दै फोहोरलाई मोहरमा बदल्नुपर्ने धारणा राखे ।

भूगर्भविद् रमेश गुरागाईले सरकारी सहयोग र सुरक्षालाई जोड्न सके राम्रो हुने बताए । ‘१/२ लाख दिएर गर्नुस् भन्दा सिंगो एरियालाई हेर्नुपर्छ’ उनले भने-‘जोखिम अध्ययन गरेर योजना बनाउनुपर्छ ।’

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top