भूकम्पले ८५ झोलुङ्गे पुल क्षतिग्रस्त

0 5

काठमाडौं, जेष्ठ ३१ –

गोरखा भूकम्पबाट प्रभावित १४ जिल्लाका ८५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्राकृतिक प्रकोपले स्थानीय जनताको आवतजावतको प्रमुख माध्यमका रुपमा रहेको पुल भत्केपछि आउजाउमा अवरोध उत्पन्न भएको छ ।

भूकम्पले बढी मात्रामा गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापको झोलुङ्गे क्षति भएका छन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का अनुसार भूकम्प प्रभावित क्षेत्रमा आगामी छ महिनाभित्रै झोलुङ्गे पुल पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ ।

ग्रामीण क्षेत्रमा नदी वारपार गर्न सहज माध्यमका रुपमा रहेको झोलुङ्गे पुल भत्केपछि भूकम्पले प्रभाव पारेका क्षेत्रका जनताबाट डोलीडारमा दैनिक एक दर्जनभन्दा बढी जानकारी आउने गरेको छ ।

डोलीडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले भूकम्पले प्रभाव पारेका क्षेत्रमा क्षतिग्रस्त भएका पुलको पुनःनिर्माणका लागि ‘झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम’ मार्फत केही रकम विनियोजन गरिने र अपुग रकम अन्य स्रोतबाट जुटाइने जानकारी दिए ।

मुलुकभित्र एक घन्टाभन्दा बढीको फेरो लगाउनुपर्ने गरी झोलुङ्गे पुलको निर्माण तथा मर्मत गरी स्थानीय जनतालाई नदी खोला तर्न सुरक्षित तथा भरपर्दो यातायातको सुविधा उपलब्ध गराई बजार, आधारभूत सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच सुनिश्चित गर्ने त्यस खालको पुल निर्माण गरिने गरिएको छ ।

नेपालमा विसं २०२० देखि नै झोलुङ्गे पुल निर्माण सुरु गरिएको थियो । हालसम्म पाँच हजार ७३५ वटा झोलुङ्गे पुल निर्माण भइसकेको छ । आगामी पाँच वर्षभित्र थप एक हजार ५०० नयाँ त्यस्ता पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।