नेपालमा एम्नेस्टी डुबाउने विदेशीको नालीबेली

0 2

३१ जेठ, काठमाडौं । देश टुक्राउने अभियान चलाउनुका साथै महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिने डा. सीके राउतलाई समर्थन गरेपछि यतिबेला नेपालमा एम्नेस्टी इन्टरनेशनल नराम्रो विवादमा तानिएको छ ।

चर्चित मानवअधिकारवादी कृष्ण पहाडीले एम्नेष्टीको समर्थन फिर्ता दिएसँगैआइतबार बहुमत पदाधिकारीले एमनेष्टी इन्टरनेशनल परित्याग गरेका छन् । आखिर किन विवादमा तानियो एम्नेष्टी ?

एम्नेस्टी इन्टरनेशनलका अन्तरराष्ट्रिय पदाधिकारी र नेपाल शाखाका अधिकारीवीचको विवाद अहिले नभएर गत वैशाखदेखिकै हो । र, विवादको विषय हो तराईलाई नेपालबाट छुट्याउने अभियान चलाइरहेका डा. सीके राउत ।

AMNISTY nepal

राउतको क्रियाकलापलाई मानवअधिकार एवं अभिव्यक्तिको स्वतन्त्रता मान्ने कि नमान्ने भन्ने विषयमा एम्नेष्टीमा विवाद चर्किएपछि अहिले एम्नेस्टीमा विद्रोह भएको हो ।

सीके राउतले नेपाल विखण्डनको अभिव्यक्ति दिइरहेकाले उनीमाथि सरकारले मुद्दा चलाउनु मानवअधिकारको विषयभित्र नपर्ने एम्नेस्टी नेपालका मानव अधिकारवादीको तर्क छ ।

‘सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभिव्यक्ति दिनु हेट स्पिच (घृणात्मक अभिव्यक्ति) भित्र पर्छ, एआइ नेपालमा एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘देश विखण्डन गराउने एवं महिलाविरुद्ध घृणात्मक अभिव्यक्ति दिनु मानवअधिकारभित्र पर्दैन । सीके राउतले महिलाविरुद्ध घृणा फैलाएर मानवअधिकारविपरीत एवं कानूनविपरीत अभिव्यक्ति दिएका छन् ।’

नेपालीलाई टेरेनन् विदेशीले

एम्नेस्टीको नेपाल शाखाका अधिकारीहरुले सीके राउतमाथि भएको कानूनी कारवाहीलाई मानवअधिकारसँग जोड्न नमिल्ने तर्क गरेका थिए । तर, एम्नेस्टी प्रतिवेदन २०१४/०१५को प्रतिवेदनमा ‘तराई क्षेत्रमा मानवअधिकार हनन’ शीर्षकमा सीके राउतको अभिव्यक्ति स्वतन्त्रताको समर्थन गरेको थियो ।

प्रतिवेदनको अंश

Amnesty report 2014-2015

आफूहरुको सुझाव विपरीत विदेशीले पेलेर सीके राउतको पक्षमा रिपोर्ट दिएपछि नेपाल शाखाले एम्नेस्टीमा महासचिव सलिल सेठ्ठीलाई पत्र लेखेर देश टुक्राउने अभिव्यक्तिलाई के आधारमा मानवअधिकारसँग जोडियो भन्दै जवाफ मागेको थियो । तर, महासचिव सेठ्ठीले अहिलेसम्म यसको जवाफ दिन सकेका छैनन् ।

महासचिव सलिल सेठ्ठीमाथि प्रश्न

मानवअधिकारवादी अन्तरराष्ट्रिय संस्था भएर पनि एम्नेस्टीले राष्ट्र विखण्डनको नारा लगाउने डा. राउतलाई किन समर्थन गर्‍यो त ? यसबारे जिज्ञासा राख्दा नेपाल शाखाका एक असन्तुष्ट अधिकारीले अनलाइनखबरसँग भने- ‘एम्नेस्टीका महासचिव सलिल सेठ्ठी भारतीय मूलका नागरिक हुन्, उनले भारतीय जेलमा थुनिएका कास्मिरी पृथकतावादीको पक्षमा किन वक्तव्य निकाल्दैनन् र सीके राउतको पक्षमा बोल्छन् ? यो बुझिनसक्नुको विषय हो ।’

सेठ्ठीले पृथकतावाद र महिला हिंसालाई मानवअधिकारसँग जोडेर नेपालमा विखण्डन र हिंसालाई मलजल गर्न खोजेको एआइ नेपालमा असन्तुष्ट पक्षको आरोप छ ।

लोभी रिचार्ड

पद र कुर्सी भनेपछि नेपालीमात्रै होइन, विदेशीमा पनि उस्तै लोभ हुँदोरहेछ भन्ने उदाहरण हुन् एम्नेस्टीका अर्का अधिकारी रिचार्ड बेनेट ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका नेपाल प्रतिनिधि भएर काठमाडौंमा बसिसकेका बेनेट राष्ट्रसंघको जागिरपछि अहिले एम्नेस्टीको एशिया प्रशासन्त क्षेत्रीय डाइरेक्टर छन् ।

नेपाल शाखाका पदाधिकारीले सीके राउतको आलोचना गर्दागर्दै उनको पक्षमा प्रतिवेदन बनाउन दबाब दिने उनै बेनेट रहेको असन्तुष्ट पक्षको तर्क छ ।

बेनेटले नेपाललाई राम्रोसँग बुझेका छन् । तर, उनी नेपालमा जातीय एवं क्षेत्रीय समुदायवीच एकता होइन, फाटो ल्याउन चाहन्छन् । नेपालमा हुँदा उनले तिब्बती शरणार्थीलाई परिचयपत्र दिन नेपाल सरकारलाई दबाव दिएका थिए ।

न्युजिल्याण्डमा जन्मेका बेनेटले सीके राउतलाई समर्थन गरेर तराईमा बिखण्डनको बिउ रोप्न लागिपरेको थाहा पाएपछि आफूहरुले एम्नेस्टी छाडेको असन्तुष्ट मानवअधिकारीहरुको तर्क छ ।

संयोग कस्तो परेको छ भने एम्नेस्टीका महासचिव सलिल जस्तै प्रमुख निर्देशक मिनार पिम्पल पनि भारतमा जन्मेका हुन् ।

राष्ट्रसंघीय सेवाबाट एम्नेस्टीमा आएका पिम्पलले नेपालबाट मधेसलाई बिखण्डन गराउने अभियान चलाइरहेका सीके राउतलाई मलजल गरेकाले आफूहरुको आवाज लण्डनले नसुनेको नेपाली मानव अधिकारकर्मीको आरोप छ ।

र, यसमा पश्चिमा र दक्षिणको स्वार्थ मिलेको उनीहरुको विश्लेषण छ ।

Krishna-Pahadi

नेपालका मानवअधिकारवादी तीन कित्तामा

कृष्ण पहाडीले एमनेस्टीविरुद्ध छेडेको यो अभियानले नेपालका मानव अधिकारवादीहरुमा तरंग सिर्जना गरेको छ ।

स्रोतले यसको व्याख्या गर्दै अनलाइनखबरसँग भन्यो-‘ नेपालका मानवअधिकारवादीहरु तीन खेमामा देखिएका छन्, एकथरि सीके राउतको पक्षमा छन्, एकथरि दाताहरु नरिसाउन् भन्नका लागि मौन बसेका छन् र एकथरि एमनेस्टीको गलत गतिविधिको भण्डाफोरमा खुल्ला रुपमा उत्रेका छन् ।