ओसिमको हत्या भएको ५ महिना बित्यो, पीडितले न्याय पाएनन् कांग्रेस-एमालेको दबावमा दोषी उम्काउन खोजिएको आरोप

0 4

३१ जेठ, पोखरा । स्टाफ नर्सकी विद्यार्थी ओसिम गुरुङको हत्यामा संलग्नलाई राजनीतिक दलको दवाबमा प्रहरीले उम्काउन खोजेको आफन्तले आरोप लगाएका छन् ।

नवलपरासी कावासोती-३ थकालीचोकस्थित मनोज गुरुङको घरमा गत माघ २ गते ओसिम मृत फेला परेकी थिइन् । नवलपरासी नै घर भइ पोखरा नर्सिङ क्याम्पसमा स्टाफ नर्स तेश्रो वर्षमा अध्ययनरत १९ वर्षीया ओसिमलाई मनोजले दिदीको जन्मदिन भएकाले ‘सेलिब्रेट’ गर्न बोलाएको र सोहीबेला हत्या गरेको ओसिमका परिवार र साथीहरुको जिकीर छ ।

मनोज ओसिमको पूर्वप्रेमी भएको बताइएको छ । मनोजको परिवारले ओसिमले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

घरको छतबाट कोठासम्म रगतका टाटा देखिनु र शरिरमा निलडाम तथा घाँटी, गाला र खुट्टामा घाउचोट भएको अबस्थामा शव भेटिएकाले आत्महत्या नभइ हत्या नै भएको पीडित पक्षको दाबी छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ओसिमका हजुरबुवा रूद्रबहादुर गुरुङले कांग्रेस-एमालेको दवाबमा प्रहरीले हत्यामा संलग्नलाई उम्काउन खोजेको आरोप लगाए । तरुण दल कावासोती नगरपालिकाका अध्यक्ष सुरज गुरुङ र अधिवक्ता ध्रुवनन्द गिरीको दवाब तथा प्रभावमा प्रहरीले दोषीलाई उम्काउने प्रयास गरिरहेको उनको आरोप छ ।

‘मेरी नातिनी ओसिमको हत्या मनोज गुरुङले उनको परिवारको सहयोगमा गरेको हो,’ उनले भने, ‘प्रहरी प्रशासन र राजनैतिक दलको संरक्षणको कारणले यो घटनालाई ओझेलमा पारिएको छ ।’

घटनामा संलग्न भएको आरोप लागेका मनोजका बुबा, आमा र दिदीलाई नै आत्महत्या गरेको भनेर साक्षी राखेको भन्दै उनले यसले दोषी उम्काउन प्रहरीको मिलेमतो देखिएको तर्क गरे ।

मृतक ओसिमका हजुरबुबा रुद्रबहादुरले भने, ‘मनोजका बाबु र आमाले एक/एक लाख र दिदीलाई ८० हजार धरौटीमा रिहा गरेको छ, अहिले तिनीहरुलाई नै साक्षी राखेपछि घटनाको पुष्टि हुन्छ ।’

मृतक ओसिमका मामा ताराप्रसाद गुरुङले हत्या आरोपी मनोजलाई पनि प्रहरीले छाड्न सक्ने संकेत देखिएकाले पत्रकार सम्मेलन गर्नुपरेको प्रष्ट्याए । प्रहरीको संलग्नतामा हत्या मुद्दाको मिसिल नै आत्महत्यामा परिणत गर्ने किसिमबाट बनाइएको बताउँदै उनले भने, ‘मनोजको बुबा, आमा र दिदीलाई धरौटीमा छाड्यो, अब कतै मनोजलाई त छाड्दैन ? हामीलाई शंका छ ।’

उनले ओसिमको मुद्दा हेरिरहेका प्रहरी निरिक्षक हरिबहादुर बरुवालले जाहेरी दिँदा कसलाई दिने/कसलाई नदिने निर्देशन दिने गरेको र घुमाइफिराई मिसिल कमजोर बनाउन भूमिका खेलेको बताए ।

ओसिमको शव विगत ५ महिनादेखि चितवन मेडिकल कलेज भरतपुरमा छ ।

– Source:Onlinekhabar