राष्ट्रिय भूकम्प मापन केन्द्र नै भत्कने अवस्थामा पुग्नुले के देखाउँछ?

0 3

२०७२ सालको महाभूकम्पले भूकम्पको बारेमा नेपाल कति संबेदनशील र तयार थियो भन्ने कुरा छर्लङ्गै भयो।

राष्ट्रिय भूकम्प मापन केन्द्र नै भत्कने अवस्थामा पुग्नु, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय भवन, सेनाको मुख्यालयलगायतका देश सञ्चालनका केन्द्रहरुका भवन नै असुरक्षित हुनुले देखाईदियो भूकम्पप्रतिको हाम्रो संबेदनशिलता।

अनुकुल वातावरणमा जीवनको उत्पत्ति गर्ने पनि प्रकृति नै हो, प्रतिकुल अवस्थामा जीवन हर्ने पनि प्रकृति नै हो। आफ्नो अवस्थितिको प्रकृति बुझ्न नसक्नेहरुले नै ठूलो मुल्य ब्यहोर्नूपर्छ। जसले पूर्वतयारी साथ प्रकृतिसँग जुध्छ उसले कमभन्दा कम क्षति बेहोर्छ। उत्रै ७.८ म्याग्निच्यूडको भूकम्पले नेपालको प्रणाली तहसनहस बनायो तर हालै गएको त्यत्रै भूकम्पले जापानमा शून्य मानवीय क्षति भयो।

हामीले मानव निर्मित समस्यालाई ठूलो महत्ब दियौं। त्यसमा पनि राजनीति नै सबै भन्दा ठूलो समस्या हो भन्ने जस्तो गर्‍यौ। अनावश्यक झगडामा हामीले धेरै समय खेर फाल्यौं। अर्बौ रूपैयाँ अनावश्यक रूपमा खर्च गर्‍यौं। तर, हामीले भूकम्पको पूर्बतयारी  संबेदनशिल भएर गरेकै थिएनौ। एउटा बैज्ञानिकको तलब ३० हजार औंठा छाप सभासदको तलब ७० हजार छ।

हाम्रो समाज पछि पर्नुको कारण शिक्षा प्रतिको हाम्रो दृष्टीकोण पनि हो। पढ्नु ज्ञान आर्जन गर्न होईन बरु चोरेरै भए पनि धेरै नम्बर ल्याउनुलाई राम्रो मानिन्छ। त्रिभुवन विश्बविद्यालयको हालै सम्पन्न परीक्षामा संलग्न मेरा एक आफन्तले गुनासो गर्दै थिईन ‘मास्टर्स डिग्रीको परीक्षामा पनि चोर्दा रहेछन, हामी मिहेनत गरेर पढ्ने र नचोर्नेहरूले यसरी खुलेआम चोर्नेहरूसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं? हाम्रो समाजले सोच्दैन कि त्यसरी चोरेर नम्बर ल्याउने मानिसले भोलि यही समाजको समस्या बुझ्नुपर्ने ठाउँमा पुग्छ र उसैले समाधानको उपाय निकाल्नु पर्छ।

धरै किताब घोकेर वा चोरेर परीक्षामा धेरै नम्बर ल्याउने र पहिलो हुनु मात्र सबैभन्दा उत्तम हो भन्ने हाम्रो समाजको एउटा पछ्यौटेपनले ग्रस्त मानसिकता छ। हाम्रो बिडम्बना हेरौं, धेरै अगाडि आफ्नो परीक्षा अरुलाई दिन लगाउने ब्यक्ति अहिले सभासद चुनिएका छन्। भोलि बिज्ञान प्रबिधि मन्त्री तिनै नियुक्ती नहोलान् भन्न सकिन्न।

तर यही समाजले आफ्नो खुविले समाजका साँच्चिकैका समस्याको समाधान खोज्ने सृजनशिल मानिस र तिनले गरेका कामलाई त्यती महत्ब दिँदैन। अरूको किताब घोकेर धेरै नम्बर ल्याउनु एउटा पक्ष हो भने त्यहि किताबको ज्ञान पनि प्रयोग गरेर आफ्नो सृजनशिलताबाट समस्या पहिचान र समाधान खोज्नु फरक कुरा हो। हाम्रा समस्या बर्तमानका हुन, यसको समाधान भुतकालमा लेखिएका किताबमा हुनै सक्दैन, हो केही बाटो पहिल्याउन सन्दर्भ सामाग्रीको लागि ति पुस्तकहरु उपयोगि पक्कै हुन्छन्।

सबैभन्दा धेरै किताब र अरू विद्वानका महावाणी घोक्दैमा वा फलाक्दैमा आफ्ना समस्या समाधान हुँदैनन। हाम्रो औपचारिक शिक्षा प्रणाली र लोकसेवा आयोगको परीक्षा प्रणाली पनि यहि मान्यताबाट चलेका छन्। धेरै ‘सुगा’हरू उत्पादन त भए तर देशको अवस्था झन जर्जर बन्दै गयो।

हाम्रो देशको विज्ञान प्रबिधिको क्षेत्रमा लगानी कति छ? हामी बैज्ञानिक अनुसन्धान गर्ने मानिसहरुलाई कस्तो दृष्टीकोणले हेर्छौ? विकशित देशको बजारमा आउने वित्तिकैको उपकरण प्रयोग गर्नेले भन्छ, ‘बिज्ञानले के गर्‍यो?’ उसको हातमा भएको उपकरण विकास गर्न धेरै बैज्ञानिकले धेरै लामो समयको अनुसन्धान गरेर मात्र बजारीकरणको कारणले  मात्र आएको हो भन्ने सोच्न सक्दैन। बिना लगानी र बिना तृष्ण बुद्धिका मानिसहरूबाट स्वीच थिचे सरह उपलब्धी आउन सम्भव छैन।

भ्रष्टाचारलाई संस्थागत गर्ने महाभूल पछाडि प्रजातन्त्र प्राप्ती पछि नेपालको अर्को सबै भन्दा ठूलो गल्ति राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बुतामा देश चलाउन दिनु हो। नेपालको नाममा आउने सहयोग तिनै संस्थाहरु मार्फत उनीहरूकै प्राथमिकतामा खर्च हुन्छ। सरकारी सेवामा चाकडी चाप्लुसी र भ्रष्ट्राचार गरेर माथिका सबैलाई खुसी पार्न नचाहने क्षमतावान मानिसहरु टिक्न सक्ने वातावरण छैन।

बिस्तारै यी संस्थाहरुको आकर्षक पारिश्रमीकले सरकारले लामो समय लगाएर तयार गरेको मानवश्रोत पलायन भइरहेको छ। संसारमा कुनै पनि देश बिदेशीले संस्थाहरुको सहयोगमा बन्दैनन्। देश आफ्नै बुतामा मात्र बन्छ।

यो माहाभूकम्प आएको समयको कारण थप क्षतिबाट हामी बच्यौं। दिउँसो र बिदाको समयमा आएको भएर शैक्षिक संस्थाहरुका विद्यार्थी जोगिए। सोच्दा पनि आङ सिरिङग हुन्छ – विद्यालयहरू चलिरहेको अबस्थामा यो महाभूकम्प आएको भए कति धेरै मानवीय क्षति हुने थियो। भवन भत्केर हुने क्षति सँगै भागदौडमा किचिदाँ हुने क्षति ठूलो हुने थियो।

दिउँसोको समयमा त्यो पनि मानिसहरू घर बाहिर रहेको बेलामा परेको भएर गाँउहरूमा मानवीय क्षति कम भयो। सुतिरहेको बेलामा आएको भए भत्केका ८ लाख घरमा कति धेरै मानवीय क्षति हुन जान सक्ने थियो, कहाली लाग्छ सोच्दा पनि।

हामी नेपालीहरू सँधै नै प्रकोपमय वातावरणमा नै भएकोले प्रकोप पछि भयावह स्थिति आएन। दिनको १२ घण्टा बत्ति नआउनु भनेको बिकशीत देशको लागि ठूलो प्रकोप हो। हामीसँग विकल्पहरू थिए, ईन्भटर, सोलार तथा  जेनेरेटर तयार थियो।

त्यसैले बत्ति जानु ठूलो समस्या भएन। सन २०११ को भूकम्प तथा सुनामीले गर्दा जापानमा बिजुलीको संकट भयो। रेल सेवाहरु घण्टौ अबरूद्ध भए। अटोमेटिक रूपमा खुल्ने बन्द हुने ढोकादेखि धारासम्मको समस्या भयो।

हामी ७ दिनमा एक दिन धारामा पानी आउने अबस्थामा थियौं। त्यसैले प्राय घरहरूमा ठुला ट्यांकीमा पानी थियो, ईनार वा बोरिङ थियो। पानीको संकटबाट गुज्रिरहेकोले हजारै पानीट्यांकर उपलब्ध थियो। भूकम्प अगावैको अवस्था प्रकोपमय थियो।

विकशित देशमा प्रायः कसैले पनि ब्यक्तिगत रूपमा यसरी बैकल्पिक ब्यवस्था गरेका हुँदैनन्। पानी सरकारी धाराको मात्र त्यो पनि २४ घण्टा नै उपलब्ध हुन्छ र त्यो पानी अबरूद्ध हुनु ठूलो संकट हुन जान्छ।

सुख्खा समय भएकोले भूमिगत पानीको सतह तल भएकोले पनि काठमाडौंमा क्षति कम हुन गयो। राति, विद्यालय चलेको बेला, बर्षापछि जमिनमा भूमिगत पानीको सतह माथि भएको बेला महाभूकम्प गएको भए क्षति धेरै ठूलो हुन सक्ने थियो। समय सँधै हाम्रो पक्षमा नरहन सक्छ।

प्रत्येक प्रकोपले ठूलो शिक्षा दिन्छ। अर्को प्रकोपबाट बच्न यो शिक्षाले धेरै मद्धत गर्छ, फलस्वरूप क्षति धेरै कम हुन्छ। तर, हामीले भबिष्यका प्रकोहरुको लागि तयारी गरेनौं भने हामीले ठूलो मूल्य तिर्नुपर्छ। हामीले संबेदनशील भएर ईमान्दारीताका साथ तयारी नगर्ने हो भने अर्को प्रकोपको बेलामा हामी फेरि भूईँमा पछारिन्छौ।