शेष घले प्रधानमन्त्रीका विशेष दूत नियुक्त

0 4

३१ जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेलाई प्रधानमन्त्रीको विशेष दूतमा नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुनर्निर्माणका लागि  अन्तरराष्ट्रिय सहयोग जुटाउन विशेष दूत बनाएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायसँग घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।
अन्तरराष्ट्रिय क्षेत्रबाट गैर आवासीय नेपालीहरुबाट सहायता जुटाउन भूमिका खेलिरहेका घलेलाई सरकारले सहायता अभिवृद्धिमा योगदान गर्न प्रधानमन्त्रीको विशेष दूतका रुपमा औपचारिक जिम्मेवारी दिएको हो ।

यसअघि सरकारले नायिका मनिषा कोइराला एवं कलाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सदभावना दूत घोषणा गरेको थियो ।