निजी विद्यालयको शुल्कवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

June 14 2015 06:17

३१ जेठ, काठमाडौँ । विभिन्न १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निजी विद्यालयको शुल्कवृद्धि फिर्ता गर्न र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्न आज बस्ने मन्त्रीपरिषद्को बैठकमा शिक्षामन्त्री चित्रलेखा यादवलाई निर्देशन दिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन विद्यार्थी नेताहरुलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले आफ्ना मागबारे अन्य दलका नेताहरुलाई पनि जानकारी गराउन विद्यार्थी नेताहरुलाई सुझाव दिनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

प्रधानमन्त्रीले देशको भविष्य युवाहरुको हातमा रहेको बताउँदै विपद्को बेला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

यसअघि गत वैशाख ६ गते निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता गर्ने १० बुँदे सहमति भए पनि त्यसको कार्यान्वयन गर्न पटक÷पटक आग्रह गरेपनि निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

विद्यार्थी सङ्गठनले जेठ ३१ गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, ३२ गते जिल्लास्तरीय विद्यार्थीको बैठक बसी संयुक्त अनुगमन टोली निर्माण गर्ने र असार १ गतेदेखि सम्पूर्ण शिक्षण संस्थाका अभिभावकसमेतलाई समेटेर संयुक्त सङ्घर्ष समिति बनाउने निर्णय गरेका थिए ।

नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, अखिल (क्रान्तिकारी)का संयोजक रमेश मल्ल, अखिल ( क्रान्तिकारी) का अध्यक्ष सुरेश गौतम, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक) का अध्यक्ष कपिलेश्वर यादवलगायत विद्यार्थी नेता ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top